• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

एमाले नेतृत्वमा केपी ओलीको ‘ह्याट्रिक’, ईश्वर पोखरेल हजारभन्दा बढी मतले पराजित

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनले केपी शर्मा ओलीलाई तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित गरेको छ । महाधिवेशनमा देखिएको चुनावी रस्साकस्सीका बीच ओलीले आफ्ना प्रतिस्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले पछि पार्दै शानदार जित हासिल गरेका हुन् ।

अध्यक्ष पदको अन्तिम मतपरिणाम अनुसार ओलीले १,६६३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी ईश्वर पोखरेलले ५६४ मत मात्र प्राप्त गरे । यससँगै ओलीले पोखरेललाई १ हजार ९९ मतको विशाल अन्तरले पराजित गरेका छन् ।

सुरुवाती मतगणनादेखि नै अग्रता कायम गरेका ओलीले अन्तिम समयसम्म आफ्नो दबदबा कायम राखे । महाधिवेशनमा संस्थापन पक्ष (ओली पक्ष) र ईश्वर पोखरेल पक्षबीच प्यानलगत प्रतिस्पर्धा देखिए पनि अध्यक्षमा भने प्रतिनिधिहरूले ओलीलाई नै निर्विल्कप नेताका रूपमा अनुमोदन गरेका छन् ।

पोखरेलले ५६४ मतमा चित्त बुझाउनु पर्दा ओलीले भने प्रतिनिधिहरूको दुई तिहाइभन्दा बढी मतसहित पार्टी कमान्ड सम्हाल्ने जनादेश पाएका छन् । यो जितसँगै केपी शर्मा ओलीले एमालेको अध्यक्ष पदमा लगातार तेस्रो पटक बाजी मारेका छन् । यो नतिजाले एमालेभित्र ओलीको पकड अझै पनि बलियो र एकछत्र रहेको सन्देश दिएको छ ।

यसअघि नवौं र दशौं महाधिवेशनबाट पनि ओली नै अध्यक्षमा निर्वाचित भएका थिए ।