काठमाडाैं । संखुवासभाको चिचिला गाउँपालिका- ३ मा अवस्थित दिदिङ आधारभूत विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।
भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र चिचिला गाउँपालिकाका अध्यक्ष पासाङनुर्बु शेर्पाले बिहीबार संयुक्त रूपमा भवनको उद्घाटन गरेका हुन् ।
विद्यालय भवन र अन्य सहयोगी संरचनाहरूको निर्माण उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको थियो । यसको कार्यान्वयन संखुवासभाको चिचिला गाउँपालिकामार्फत गरिएको भारतीय दूतावासले जनाएको छ ।

सन् १९६२ मा संखुवासभामा स्थापना भएको दिदिङ आधारभूत विद्यालयमा प्रारम्भिक बाल विकास (ईसीडी)देखि कक्षा ५ सम्म अध्यापन हुन्छ ।
चिचिला गाउँपालिकाका अध्यक्ष, विद्यालय व्यवस्थापन र अन्य सरोकारवालाहरूले भारत सरकारले प्रदान गर्दै आएको विकास सहायोगको प्रशंसा गरे ।
साथै उनीहरूले नयाँ पूर्वाधारले यहाँको सिकाइको वातावरणमा सुधार ल्याउने र यस क्षेत्रको शिक्षा क्षेत्रलाई सुदृढ बनाउने विश्वास व्यक्त गरे।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकता क्षेत्रमा पूर्वाधार विकास गर्नुका साथै नेपाल सरकारले गरेका विकासका प्रयासहरूमा भारत सरकारको निरन्तर सहयोग रहेको कुरालाई प्रतिबिम्बित गरेको दूतावासले जनाएको छ ।