काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि तय गरेको समानुपातिक उम्मेदवारको प्रारम्भिक सूचीमा नेता मिलन लिम्बूको नाम समावेश भएको छ । रास्वपाको तर्फबाट इलाम क्षेत्र नम्बर २ मा प्रत्यक्ष उम्मेदवार बनिसकेका लिम्बू यसपटक समानुपातिकबाट संसद छिर्ने तयारीमा लागेका हुन् ।
रास्वपाले समानुपातिक उम्मेदवार चयन गर्नका लागि आह्वान गरेको ‘प्राइमरी इलेक्सन’ (प्रारम्भिक निर्वाचन) मा लिम्बूले कोशी प्रदेशबाट आवेदन दिएका छन् । पार्टीले शनिबार सार्वजनिक गरेको ३५३ जना आकांक्षीहरूको सूचीमा लिम्बूको नाम कोशी प्रदेशको कोटामा परेको हो ।
गत वैशाखमा सम्पन्न इलाम–२ को उपनिर्वाचनमा रास्वपाबाट प्रत्यक्ष उम्मेदवार बनेका लिम्बू त्यसयता पार्टीभित्र निरन्तर सक्रिय रहँदै आएका छन् । पत्रकारिता छोडेर राजनीतिमा होमिएका उनलाई रास्वपाले एक प्रभावशाली युवा नेताका रूपमा अघि सारेको छ । प्रत्यक्ष निर्वाचनको अनुभव बटुलिसेकेका लिम्बूले यसपटक पार्टीको आन्तरिक लोकतान्त्रिक विधिमार्फत समानुपातिक सूचीमा स्थान बनाउन चाहेका हुन् ।
लिम्बूले आवेदन दिएको कोशी प्रदेशबाट समानुपातिक उम्मेदवार बन्न अन्य ५९ जनाले पनि दाबेदारी प्रस्तुत गरेका छन् । यस सूचीमा रमेश प्रसाईं, व्यवसायी राज्यलक्ष्मी गोल्छा र नेता प्रकाशचन्द्र परियार जस्ता चर्चित व्यक्तित्वहरूको पनि नाम समावेश छ ।
प्रभावशाली वक्ता प्रसाईं र पूर्वसांसद गोल्छाको उपस्थितिले कोशी प्रदेशको ‘प्राइमरी इलेक्सन’ निकै रोचक हुने देखिएको छ ।
रास्वपाले आफ्ना समानुपातिक उम्मेदवार छान्नका लागि ‘प्राइमरी इलेक्सन’ को विधि अपनाएको छ । सार्वजनिक गरिएको प्रारम्भिक सूचीमा रहेका आकांक्षीहरूबीच पार्टीका सदस्यहरूले मतदान गर्नेछन् र सोही मतदानको नतिजाका आधारमा अन्तिम बन्दसूची तयार पारिनेछ ।
बाग्मती प्रदेशबाट रञ्जु दर्शना, समीक्षा बास्कोटा, सुदूरपश्चिमबाट ज्वाला संग्रौला र प्रतिभा रावल जस्ता चर्चित अनुहारहरू पनि समानुपातिक सांसदको दौडमा छन् । रास्वपामा सबैभन्दा बढी बाग्मती प्रदेशबाट ९४ जना र सबैभन्दा कम कर्णालीबाट २१ जनाको आवेदन परेको छ ।