• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

क्यानको निमित्त महानिर्देशकमा देवचन्द्रलाल कर्ण

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को निमित्त महानिर्देशकको जिम्मेवारी देवचन्द्रलाल कर्णलाई दिइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले मन्त्रीस्तरीय निर्णय गरी प्राधिकरणका वरिष्ठ उपमहानिर्देशक कर्णलाई रिक्त महानिर्देशक पदको कामकाज गर्ने गरी निमित्त जिम्मेवारी तोकेका हुन् ।

निर्णयपछि कर्णले शुक्रबार नै पदभार ग्रहण गरेका छन् ।

निवर्तमान महानिर्देशक इन्जिनियर प्रदीप अधिकारी भ्रष्टाचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि मंसिर १७ देखि निलम्बनमा परेका छन् । अधिकारीको चार वर्षे कार्यकाल आगामी माघ १७ गतेसम्म रहेकाले सो अवधिसम्म नयाँ पूर्णकालीन महानिर्देशक नियुक्त गर्न नमिल्ने अवस्था छ । यही कारण कर्णलाई निमित्त तोकिएको हो ।

यसअघि सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव मुकेश डंगोललाई अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारी दिएको थियो । तर प्राधिकरणका कर्मचारीहरूबाट वरिष्ठताका आधारमा संस्थाभित्रकै पूर्णकालीन कर्मचारीलाई जिम्मेवारी दिनुपर्ने माग उठेपछि कर्णलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको हो ।

देवचन्द्रलाल कर्ण प्राधिकरणकै १२ औं तहका वरिष्ठ उपमहानिर्देशक हुन् ।