काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस)का विषयमा आफू मन्त्री बनेपछि अध्ययन, बुझाइ र समीक्षा गरेको बताएका छन् ।
शनिबार नेपाल मोबाइल व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशन तथा तेस्रो साधारण सभालाई सम्बोधन गर्दै उनले एमडिएमएस भ्रष्टाचारको जालोभित्र जकडिएको र त्यस जालोलाई च्यात्नैपर्ने बताए ।
‘एमडिएमएसको कुरा म मन्त्री भएर आउने बित्तिकै सोधेँ, बुझेँ, पढेँ । भष्ट्रचारको जालोभित्र जकडिएर बसेको रहेछ । त्यो भष्ट्रचारको जालोभित्र भएको एमडिएमएसलाई त्यो जालो च्यात्यौँ भनेर खोजेको स्वस्थानी ब्रतकथामा महादेवले झुपडी च्यातेर सुनै सुनको महल बनाए जस्तो त हुँदो रहेनछ,’ उनले भने, ‘अनि मैले अध्ययन गरे त्यो समय लाग्छ होला तर त्यो च्यात्न चै पर्छ ।’
प्रविधिमन्त्री खरेलले मोबाइल व्यवसायले देशको आर्थिक गतिशीलता बढाउनुका साथै सामाजिक र पारिवारिक सम्बन्ध जोड्ने महत्वपूर्ण भूमिका खेलेको बताए ।
मन्त्री खरेलले मोबाइल व्यवसायमा अधिकांश युवा संलग्न रहेको र यस क्षेत्रमार्फत करिब १ लाख जनाले रोजगारी पाएको जानकारी दिए । उनका अनुसार काठमाडौं उपत्यकामा मात्र करिब ४ हजार मोबाइल व्यवसायी सक्रिय छन् ।
मन्त्री खरेलले मोबाइल व्यवसाय सूचना प्रविधि मन्त्रालयसँग प्रत्यक्ष रूपमा जोडिएको क्षेत्र भएकाले व्यवसायीहरूको भूमिकाप्रति नेपाल सरकार, सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तर्फबाट धन्यवाद व्यक्त गरे ।
एमडिएमएस सुधार आवश्यक रहेको उल्लेख गर्दै मन्त्री खरेलले यसबाट सरकारलाई प्राप्त हुने राजस्व र व्यवसायीहरू दुवै स्पष्ट हुने बताए ।
‘त्यो च्यात्न पर्छ यस अर्थमा कि हामीले च्यात्यौँ भने सरकारलाई आउने राजस्व स्पष्ट हुन्छ, व्यवसायीहरु स्पष्ट हुन्छन् । म अरु जस्तो नेपाललाई सिंगापुर बनाउछु भन्दिनँ मसँग २ महिना मात्र छ यो ६ महिनाको सरकार हो २ महिना समय बाँकी छ म कति सक्छु तपाईँहरुले उठाउनु भएका बुँद्धागतरुप मागहरु छन् । समयभित्र सकेसम्म व्यावहारिक सुधार गर्ने प्रयास गर्छु ’ उनले भने ।
उनले नेपाल मोबाइल व्यवसायी महासंघको केन्द्रीय नेतृत्वलाई मन्त्रालयमा आमन्त्रण गर्दै व्यवहारिक समस्याहरू लिएर छलफलमा आउन आग्रह गरे । ‘सम्बन्धित निकायसँग बसेर समस्या समाधान गर्ने प्रयास सरकार र व्यवसायी मिलेर गरौँ,’ उनले भने ।
अन्त्यमा मन्त्री खरेलले वर्तमान सरकारलाई ‘जेनजीको सरकार र जेनजीको मन्त्री’ भन्दै नयाँ सोच र सहकार्यबाट समाधान खोजिने विश्वास व्यक्त गरे ।