काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्धारित समयमा चुनाव नगरेर पछि धकेल्ने प्रयास भए आफूहरू चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।
काठमाडौंमा आयोजित ‘एकता सन्देश सभा’लाई सम्बोधन गर्दै प्रचण्डले सरकारलाई संविधानसँग खेलबाड नगर्न र निर्वाचनको तयारीमा लाग्न सचेत गराएका हुन् ।
देशभर जनताको ‘महासागर’ उतारेको दाबी गर्दै प्रचण्डले जनशक्तिलाई जिस्काए देश दुर्घटनामा पर्ने बताए । उनले भने, ‘हामीले देशभर जनताको विशाल उपस्थिति देखाइसकेका छौँ, यसलाई खेलाँची नठानियोस् । यो शक्तिलाई जिस्काएर संविधानसँग फेरि खेलबाड गरियो भने यो शक्ति सडकमा आउनेछ । यो त्यही शक्ति हो, जसले हिजो जनयुद्ध गरेर राजसंस्था ढालेको थियो ।’
उनले आफ्नो पार्टीले निर्वाचनको तयारीका लागि सरकारलाई सहयोग गरिरहेको उल्लेख गर्दै चुनाव धकेल्ने षड्यन्त्र भए नेकपा अब ‘रमिते’ बनेर नबस्ने स्पष्ट पारे ।
यसैगरी, सोही सभालाई सम्बोधन गर्ने क्रममा प्रचण्डले स्वतन्त्र रूपमा निर्वाचित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङप्रति पनि कटाक्ष गरे ।
विगतमा आफूले उनीहरूलाई ‘लोकतन्त्रमा फुलेको फूल’ भनेर प्रशंसा गरेको स्मरण गर्दै प्रचण्डले अहिले उनीहरूको कार्यशैलीप्रति असन्तुष्टि जनाए ।
मेयरद्वयलाई लक्षित गर्दै उनले भने, ‘मैले हाम्रो लोकतन्त्रको फूल भनेको थिएँ तपाईंहरूलाई, तर अहिले तपाईं फूलहरू विस्तारै काँडा बन्दै जानुभएको हो कि जस्तो देखिँदैछ । इतिहास, आन्दोलन र शहीदको रगतलाई बुझ्नुस् ।’
प्रचण्डले जनआन्दोलन र बलिदानबाट प्राप्त उपलब्धिलाई हल्का रूपमा नलिन आग्रह गर्दै आन्दोलनको जगबाट आएको शक्तिलाई नबिर्सन समेत चेतावनी दिएका छन् ।