काठमाडौँ । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेर हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आइतबार पार्टी कार्यालय बनस्थली पुगेर कार्यभार सम्हालेका छन् । सो क्रममा उनले पार्टीबाट अलग भएका नेताहरूप्रति उदारता र राजनीतिक विरोधीहरूप्रति आक्रामक शैली प्रस्तुत गरे ।
लामिछानेले पार्टीबाट हालै अलग भएका प्रभावशाली नेताहरू सुमना श्रेष्ठ र सन्तोष परियारलाई विशेष सम्झना गर्दै उनीहरूको योगदानको प्रशंसा गरे । ‘कुनै पनि कारणले यो यात्राबाट छुट्टिएर जानुभएको भए पनि म उहाँहरूलाई शुभकामना दिन चाहन्छु,’ उनले भावुक हुँदै भने, ‘हामीले उहाँहरूका लागि धेरै केही गर्न सकेनौँ, तर उहाँहरूले हाम्रो लागि ठूलो गुण लगाएर जानुभएको छ । म सधैँ ऋणी रहनेछु ।’
लामिछानेले पार्टीले सबै साथीभाइलाई समेट्न नसकेको स्वीकार गर्दै रास्वपालाई आजको उचाइसम्म पुर्याउन बाहिरिएका नेताहरूले सिकाएको पाठ र दिएको उपलब्धिलाई कहिल्यै नविर्सने बताए ।
पार्टी कार्यालयमा उपस्थित नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले पछिल्लो समय राजनीतिक वृत्तमा भइरहेको भनिएको ‘संसद् पुनर्स्थापना’को चर्चाबारे कडा आपत्ति जनाए । उनले आफूसँग संसद् ब्युँझाउन दौडधुप भइरहेको सूचना आएको दाबी गर्दै षड्यन्त्र नगर्न चेतावनी दिए ।
‘म सुनिरहेको छु, संसद् पुनर्स्थापनाका लागि दौडधुप हुन थालेको छ रे । कुन संसद् ब्युँझाउन खोज्नुभएको ? जनताका मुद्दा उठाउँदा माइक काट्ने संसद् ?’ भन्दै उनले आक्रोश पोखे । उनले अगाडि थपे, ‘षड्यन्त्रको आँखा बन्द गर्नुहोला, धेरै आँखा नचम्काउनुहोला ।’
आफ्नो सम्बोधनका क्रममा उनले अबको लक्ष्य केवल संरचना निर्माण मात्र नभई व्यवस्थाको परिवर्तन भएको बताए । ‘सिंहदरबार बनाएर मात्रै हुँदैन, अब सिंहदरबार बदल्नु छ,’ उनले भने । साथै, उनले पछिल्लो समय चर्चामा रहेको ‘जेन–जी’ आन्दोलनको योगदानलाई पूरा गर्न आफ्नो पार्टी प्रतिबद्ध रहने समेत उद्घोष गरे ।