• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

मिराज ढुंगानाको आन्दोलनमा ‘जेन-जी’ कै असहमति: भन्छन्– सधैँ आन्दोलन गरेर देश चल्दैन, चुनाव हुनुपर्छ

काठमाडौँ । जेन-जी प्रतिनिधिको नाममा मिराज ढुंगाना नेतृत्वको समूहले ‘सर्वपक्षीय सरकार’को माग गर्दै सोमबार माइतीघरमा आन्दोलन घोषणा गरे पनि सचेत युवाहरूमा भने यसप्रति तीव्र असहमति देखिएको छ। आन्दोलनका नाममा देशलाई अस्थिरता र गृहयुद्धतिर धकेल्न खोजिएको भन्दै माइतीघर क्षेत्रमा भेटिएका ‘जेन-जी’ पुस्ताका युवाहरूले सडक संघर्षभन्दा चुनावी प्रक्रियाबाटै निकास खोज्नुपर्नेमा जोड दिएका छन्।

भदौको आन्दोलनपछि बनेको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले १०० दिन पूरा गर्दा असफल भएको दाबी गर्दै ढुंगाना समूहले आन्दोलन थालेको हो। तर, कार्यक्षेत्रमा खटिएका र कानुनका विद्यार्थी युवाहरूले भने यसलाई ‘अनावश्यक उत्तेजना’को संज्ञा दिएका छन्।

महर्षि ल कलेजमा अध्ययनरत जेन-जी युवा विज्ञान शिवाकोटीले बारम्बारको आन्दोलनले देशलाई कंगाल बनाउने चिन्ता व्यक्त गरे। “आज मिराजको समूहले गर्ला, भोलि सुदनको समूहले गर्ला— यस्तो सधैँभरि आन्दोलन गरेर देश अघि बढ्दैन,” शिवाकोटीले भने, “हामी अहिले नै गरिबीको सूचीमा तल छौँ। यही अवस्था रहे देश सोमालिया जस्तै बन्न सक्छ। अबको समाधान भनेको चुनाव गरेर ‘फ्रेस म्यान्डेट’ ल्याउनु नै हो।”

शिवाकोटीले आन्दोलनकारीहरूलाई पहिला सिस्टम र संविधान बुझ्न सुझाव दिँदै थपे, “अहिलेको सरकार आन्दोलनले ल्याएको हो, यसलाई जनमतको पूर्ण पावर हुँदैन। त्यसैले चुनाव नगरिकन सधैँभरि सडकमै बसेर निकास निस्किँदैन।”

अर्का युवा अनुज भुषालले पनि मिराज ढुंगानाको आन्दोलनप्रति असन्तुष्टि जनाए। सरकारले काम गरिरहेको र छानबिन आयोगको म्याद थपेर सुशासनको प्रयास गरिरहेको बेला आन्दोलन गर्नु प्रत्युत्पादक हुने उनको तर्क छ। “हामी चुनाव गराउनुको साटो यस्तो आन्दोलनमा लाग्यौँ भने देश गृहयुद्धमा जान सक्छ। देशले ८८ अर्ब घाटा व्यहोरिसक्यो, अब आन्दोलन थेग्न सक्ने अवस्था छैन,” भुषालले भने।

उनले फागुन २१ मै चुनाव हुनुपर्ने र चुनावपछि आउने बहुमतको सरकारले मात्र संविधान संशोधन वा प्रत्यक्ष कार्यकारीको कुरा अघि बढाउन सक्ने बताए।

मिराज ढुंगानाले आइतबार पत्रकार सम्मेलन गर्दै वर्तमान सरकारले जेन-जी आन्दोलनको मर्म नमगाएको र सुशीला कार्कीले ‘चुनावको मात्र रट लगाएको’ आरोप लगाएका थिए। उनले निर्वाचनभन्दा पहिला सबै पक्षलाई समेट्ने ‘सर्वपक्षीय सरकार’ आवश्यक रहेको दाबी गरेका छन्।

तर, माइतीघरमा भेटिएका अधिकांश युवाहरू भने मिराजको यो मागसँग सहमत देखिँदैनन्। उनीहरूका अनुसार १०–२० जना मान्छे भेला पारेर सधैँ सत्ताको सौदाबाजी गर्ने प्रवृत्तिले ‘जेन-जी’ को वास्तविक एजेन्डालाई छायामा पारेको छ।

अध्ययन र विश्लेषणका लागि माइतीघर पुगेका युवाहरूले आन्दोलनका नाममा भइरहेको घुसपैठ र स्वार्थ समूहको चलखेलप्रति सतर्क रहन समेत आग्रह गरेका छन्। उनीहरूको एउटै स्वर छ, “विकल्प आन्दोलन होइन, फागुन २१ को निर्वाचन हो।”