काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफ्नो पहिलो तारेखका लागि काठमाडौं जिल्ला अदालत पुगेका छन् ।
सोमबार तारेखका लागि जिल्ला अदालत पुगेका उनले सञ्चारकर्मीहरुसँगको छोटो कुराकानीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएको गुन तिर्न गएको प्रतिक्रिया दिए ।
उनले भने,‘गुन लगाइदिनुभएको छ नि केपी ओलीजीले, त्यही गुन तिर्न आइराखेको छु । सबै जिल्ला अदालतमा जानुपर्ने छ । ठाउँठाउँमा वा जिउमा किला ठोकेको जस्तो भएको छ । सात दिन भित्र सबै अदालत हाजिर हुनुपर्नेछ । विष अझै बाँकी छ शरीरमा, त्यसको लागि तयारी गरिरहेको छु ।’
ओलीले आइतबार एक टेलिभिजन अन्तरवार्तामा आफूले रविलाई गुन लगाएको तर गुन बिर्सिएर त्यतिकै रिसिइबी लिएको बताएका थिए ।
ओली नेतृत्वको नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको तत्कालीन गठबन्धन सरकारले रविमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा लगाएको थियो ।
उच्च अदालत बुटवल इजलासको आदेशमा पुर्पक्षका लागि थुनामा रहेका उनी सोही अदालतको आदेशमा गत शुक्रबार २ करोड ६८ लाख धरौटी बुझाएर रिहा भएका थिए । रविको काठमाडौँ, कास्की, चितवन, रुपन्देही र पर्सा जिल्ला अदालतमा मुद्दा रहेको छ ।