• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सर्वदलीय बैठकमा प्रधानमन्त्री कार्कीले भनिन्– निर्वाचन परिवर्तनको मार्ग, अरु कसले के भने ?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनलाई कुनै संकटको घडीका रूपमा नभई परिवर्तनको मार्गका रूपमा लिनुपर्ने बताएकी छिन् ।

सोमबार सिंहदरबारमा आयोजित सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै उनले निर्वाचनले नै मुलुकमा परिवर्तन ल्याउने विश्वास व्यक्त गरिन् । उनले भनिन्, ‘निर्वाचन हाम्रो लागि संकट होइन, खुसीको घडी हो । यो परिवर्तनको मार्ग हो, नेपालमा आजसम्म जति पनि परिवर्तन भएका छन्, ती निर्वाचनकै माध्यमबाट सम्भव भएका हुन् ।’

प्रधानमन्त्री कार्कीले अहिलेको मुख्य चुनौती युवा वर्गलाई नेतृत्वको अग्रपंक्तिमा ल्याउनु रहेको उल्लेख गरिन् । भदौ २३ र २४ गतेको अप्रत्याशित घटनाक्रमले सिंगो राष्ट्रलाई परिवर्तनको नयाँ मोडमा पुर्‍याएको उनको भनाइ थियो । उनले भनिन्, ‘सोच-समझभन्दा बाहिरको जुन परिस्थिति आयो, त्यसले युवा पुस्ताको नेतृत्वमा मुलुकलाई अघि बढाउनुपर्छ भन्ने भावना विकास गरेको छ ।’

देशको सर्वोच्च शक्ति जनता नै भएको स्मरण गराउँदै उनले राजनीतिक दलहरूलाई भागबन्डाको राजनीति त्यागेर जनताको भावना बुझ्न आग्रह गरिन् ।

फागुन २१ मा निर्वाचन हुन्छ भन्नेमा विश्वास छैन : एमाले

नेकपा एमालेले आगामी फागुन २१ गते निर्वाचनको आवश्यक गृहकार्य नगरेको भन्दै निर्वाचन हुन्छ भन्ने कुरामा आफूहरु विश्वस्त नरहेको बताएको छ ।

सचिव महेश बस्नेतले लोकतान्त्रिक पद्दतीलाई आत्मासाथ गरेर आएका दलहरु निर्वाचनको विपक्षमा कहिल्यै पनि नहुने तर सरकारको तयारी हेर्दा चुनावी वातावरण नदेखिएको बताएका हुन् ।

उनले भने, ‘हामी लोकतान्त्रिक पद्दतीलाई आत्मासाथ गरेर आएका दलहरु निर्वाचनको विपक्षमा कहिल्यै पनि हुँदैनौं । सैद्धान्तिक रुपमा हामी निर्वाचनको पक्षमा छौं । आजको वातावरण र संसद पुनःस्थापनाको मागसहित यो सरकार असंवैधानिक हो भनेर सर्वोच्च अदालतमा रिट हालेको अवस्थामा २१ गते निर्वाचन हुँदैन भन्ने कुरा हो । धेरै होर्मवर्क गरेर मात्र निर्वाचनको तयारी गर्न सकिन्छ । यो कुरामा सरकारको ध्यान गएको छैन् । जेनजीसँग सम्झौता भएको छ तर कार्यान्वयनमा उहाँहरुको पनि आशंका छ । चुनाव २१ गते हुन्छ भन्ने कुरामा हामी विश्वस्त छैनौं ।’

फागुन २१ मा चुनाव भएन र सर्‍यो भने संसद् पुनःस्थापना हुन्छ कि के हुन्छ, भनेर उनले प्रश्न समेत गरे ।

फागुन २१ गतेको निर्वाचनलाई धकेल्न मिल्दैन : वर्षमान पुन

नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले सरकारले फागुन २१ गतेको निर्वाचनलाई धकेल्न नमिल्ने दाबी गरेका छन् । उनले निर्वाचनसम्बन्धी ऐन कानुन संशोधन गर्नु ठिक नहुने पनि संकेत गरेका छन् ।

पूर्वमन्त्री समेत रहेका पुनले फागुन २१ को निर्वाचनमा सकारात्मक सहयोग गर्न तयार रहेको बताए । तर निर्वाचनको तयारी सुरु भइसकेकाले नियमहरु परिवर्तन गर्न नहुने जिकिर गरे ।

भयरहित वातावरणमा चुनाव गराउन रास्वपाको माग

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले विदेशमा भएका नागरिकलाई भोटिङको अधिकार सुनिश्चितता गर्न नसके कानूनी प्रावधान गरेर भएपनि अगाडि बढ्नु पर्नेमा जोड दिएका छन् ।

बैठकमा उनले विदेशमा भएको नागरिकको भोटिङ्को अधिकारको लागि कानूनी प्रावधान गरेर अगाडि बढ्नको लागि निर्वाचन आयोग र सरकारलाई ध्यानाकर्षण गराए ।

उनले भने, ‘समयले विदेशमा भएका नागरिकलाई भोटिङ्को अधिकार सुनिश्चितता गर्न सक्दैन भने राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सम्पूर्ण दलहरुलाई कम्तीमा कानूनी प्रावधान गरेर जाऔं भन्न चाहन्छु । जसका कारण चुनावमा स्पष्ट तरिकाले अगाडि बढ्न पाइन्छ । हामीले पटक पटक निर्वाचन आयोग वा सरकारलाई ध्यानाकर्षण पनि गराएका छौँ ।’

यस्तै, उनले चुनावमा नेता, पार्टी र उम्मेदवारहरु र मतदाताको सुरक्षाको जिम्मेवारी सरकारको भएको भन्दै त्यसतर्फ पनि ध्यानाकर्षण गराए । उनले भने, ‘अत्यन्त महत्वपूर्ण विषय भनेको चुनावमा शान्ति सुरक्षाको विषय नै हो । चुनावको प्रचारप्रसारको विषय नै हो । त्यसको लागि भयरहित वातावरणमा सहभागिता गराउन सक्नुपर्छ । नेता, पार्टी र उम्मेदवारहरुको सुरक्षाको ग्यारेन्टी र मतदाताको पनि सुरक्षाको जिम्मेवारी सरकारको हो । यसतर्फ पनि सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।’

हामी निर्वाचनको तयारीमा छौं, तोकिएको समयमा सम्पन्न हुनुपर्छ : कांग्रेस

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउन आग्रह गरेका छन् ।

बैठकमा कांग्रेसको तर्फबाट बोल्दै उनले निर्वाचन नभए देशले निकास नपाउने पार्टीको धारणा रहेको बताउँदै उम्मेदवार सिफारिस पनि कांग्रेसले गरिसकेको बताए ।

उनले भने, ‘नेपाली कांग्रेले फागुन २१ को निर्वाचनमा सहभागी हुने तय गरेको छ । निर्वाचनबिना देशले निकास पाउँदैन । त्यो नेपाली कांग्रेसको धारणा हो । फागुन २१ गते भन्दा कुनै तलमाथि नगरी निर्वाचन गर्न कांग्रेसको आग्रह छ । निर्वाचनको लागि पार्टीभित्रको तयारी गरिसकेको छौँ । उम्मेदवारी सिफारिस तहगत रुपमा ल्याइसकेका छौँ, ल्याउने क्रम पनि छ ।’

त्यस्तै, उनले केही नेताहरूलाई स्थानहदको कुरा आएको भन्दै आम निर्वाचनमा संविधानले दिएको अधिकार अनुसार कुनैपनि दलको नेता वा नागरिक जहाँबाट पनि लड्न सक्ने बताए । उनले भयरहित वातावरण चुनाव गराउनसक्ने सरकारले आधार दिनुपर्ने भन्दै समानुपातिकतर्फको बन्द सूची बुझाउने समय केही थप गर्न माग गरे ।

सिद्धान्तहीन गठबन्धन गर्नेहरुकै कारण देशमा भ्रष्टाचार बढ्यो : सुवाल

नेपाल मज्दुर किसान पार्टीका नेता प्रेम सुवालले चुनाव जित्न र सरकारमा पुग्न सिद्धान्तहीन गठबन्धन गर्नेहरुकै कारण देशमा भ्रष्टाचार बढेको बताएका छन् ।

बैठकमा उनले सिद्धान्तहीन गठबन्धनले देशमा भ्रष्टाचार बढेको भन्दै पद नपाएसम्म इमानको कुरा गर्ने पाएपछि बेइमान गर्ने राजनीतिले जनतालाई धोका भएको बताए ।
उनले भने, ‘चुनाव जित्न र सरकारमा पुग्न सिद्धान्तहीन गठबन्धन गर्नेहरुकै कारण देशमा भ्रष्टाचार बढेको हो । पद नपाएसम्म इमानको कुरा गर्ने पाएपछि बेइमान गर्ने राजनीतिले देश र जनतालाई धोका भएको हो ।’

यस्तै, उनले धेरै पटक प्रधानमन्त्री र मन्त्री हँदैमा त्यो जनताको नहुने रहेछ भन्ने कुरा देखा परेको भन्दै यस विषयतर्फ सबै सचेत हुन आवश्यक रहेको बताए ।

उनले भने, ‘धेरै पटक प्रधानमन्त्री र मन्त्री हुँदैमा त्यो जनताको नहुने रहेछ भन्ने कुरा पनि देखा परेको छ । जस्तै राणा शासन त्यति लामो हुुँदा पनि जनताले रुचाएन नि । यसतर्फ सबै सचेत हुन आवश्यक छ । दलको नाम मात्र फरक छ तर सरकारमा गएर गर्ने काम एउटै छ । केही फरक छैन ।’

भदौ २३ र २४ को घटनाले सरकारहरुले समयमा देश र जनताको समस्या समाधान गर्न नसकेको कुरा देखिएको भन्दै राजनीतिक दलको उद्देश्य देश र जनताको निःस्वार्थ सेवा हो र यो कुरा दलको विधानमा उल्लेख हुनुपर्ने पनि उनको भनाइ छ ।