• २०८३ जेठ २०
  • 2026 June 03, Wednesday

राष्ट्रपतिको अग्रसरता प्रधानमन्त्रीसहित शीर्ष नेताबिच पहिलो संयुक्त संवाद

काठमाडौँ । जेनजी आन्दोलनपछि सरकार र प्रमुख दलका शीर्ष नेताबिच देखिएको संवादहीनता अन्ततः तोडिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा मंगलबार शीतल निवासमा प्रधानमन्त्री सुशीला कार्कीसहित प्रमुख तीन दलका शीर्ष नेताहरू एकै ठाउँमा छलफलमा जुटेका हुन् ।

छलफलमा प्रधानमन्त्री कार्कीसँगै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन् । कार्की प्रधानमन्त्री बनेपछि शीर्ष नेतासँग भएको यो पहिलो प्रत्यक्ष संयुक्त भेट हो ।

जेनजी आन्दोलनको बलमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा सरकार गठन भएको तीन महिनापछि राष्ट्रपतिको अग्रसरता यस्तो भेट भएको हो । यसअघि प्रधानमन्त्री कार्कीले प्रमुख दलका शीर्ष नेतासँग एक्लै भेट नगर्ने सार्वजनिक अभिव्यक्ति दिएकी थिइन् । उता, प्रमुख दलका नेताहरूले फागुन २१ गतेको निर्वाचन घोषणालगायत विषयमा प्रधानमन्त्रीले आफूहरूसँग कुनै छलफल नगरेको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए ।

सरकारले निर्वाचनको तयारी गरिरहेका बेला नेपाली काँग्रेस र नेकपा एमाले संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालत पुगेका छन् । यसै सन्दर्भमा एमाले अध्यक्ष ओलीले संसद् पुनर्स्थापना गरी सर्वदलीय सरकार गठन गरेर जेनजीका माग संसदबाटै सम्बोधन गर्न सकिने प्रस्ताव अघि सारेका छन् ।

राष्ट्रपति, प्रधानमन्त्री र प्रमुख दलका शीर्ष नेताबिच भएको यस छलफललाई पछिल्ला राजनीतिक तनाव कम गर्ने र निर्वाचन तथा शासन प्रक्रियामा सहकार्यको आधार तयार गर्ने महत्त्वपूर्ण प्रयासका रूपमा हेरिएको छ ।