• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

देउवाको भूमिकाप्रति गगन थापाको असन्तुष्टि: नाम मात्रैको कार्यवाहक दिनुभएको छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाको भूमिकाप्रति असन्तुष्टि जनाएका छन्। पार्टीमा कार्यवाहक दिने, बैठकहरूमा नआउने तर शक्तिको सबै अभ्यास कायमै राखिरहेको भन्दै महामन्त्री थापाले केन्द्रीय कार्यालय सानेपाबाटै खुला असन्तुष्टि राखेका हुन् ।

गत असोज २८ गते सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए। तर पछिल्ला राजनीतिक भेटघाटलगायत पार्टीका आन्तरिक गतिविधिमा सभापति देउवा नै सक्रिय छन् ।

बुधबार पार्टीको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सभापति आजको बैठकमा नआएको भन्दै बाँकी रहेको बैठक र बाँकी रहेको शक्ति सबै बाहिरबाट अभ्यास भइरहेको टिप्पणी गरे ।

उनले भने, ‘म पार्टी सभापतिलाई आग्रह गर्छु । उहाँले कार्यवाहक दिनुभएको छ । तर उहाँले कार्यवाहक दिँदै गर्दा नाम मात्रैको भएको छ । आज बैठकमा आउनुभएको छैन । तर बाँकी रहेको बैठक, बाँकी रहेको शक्ति सबै त्यहीँबाट अभ्यास भइरहेको छ ।’

त्यस्तै, उनले कांग्रेसले अधिवेशनबारे अनावश्यक छलफल गरेर समय मात्र खेर फालिरहेको बताए । महाधिवेशनमा नजाने हो भने विकल्प खुला रहेको बताउँदै उनले विशेष अधिवेशनमा जान सुझाए ।

उनले भने, ‘कांग्रेसले गएको एक डेड महिनाभित्रमा खालि आफ्नो पार्टी कार्यालयभित्र बसेका छौं हामीले अनावश्यक समय खेर फालिसक्यौ। अब फेरि समय खेर फाल्ने कुरा हुँदैन । आलटाल गर्ने कुरा हुँदैन । यसरी महाधिवेशनमा जाँदैनौं भन्ने हो भने विकल्प खुला छ । साथीहरूले माग राख्नुभएको छ, त्यो पनि विधानले भनेको छ । विशेष महाधिवेशन गर्ने र त्यहीबाट अधिवेशनले गर्ने निर्णय गर्छ ।’

त्यस्तै उनले सभापतिले पार्टीको हितका लागि तपाईंहरु मिल्नुस्, मंसिरभित्र अधिवेशन गर्नुस्, म सबै कुराबाट अलग भएर गएँ भनेर भनेको दिन देशभरका साथीहरुले सभापतिले अभिभावकीय भूमिका निर्वाह गर्ने बोध गरेको धारणा राखे ।