• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता गर्ने सहमति

काठमाडौं । राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता गर्ने सहमति भएको छ। राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच पार्टी एकताको सहमति भएको हो।

‘राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालको बीचमा एकता हुने निर्णय भएको सुखद समाचार सबैमा निवेदन गर्दछु’ सामाजिक सञ्जालमार्फत कमल थापाले भनेका छन् ।

यसैगरी, राजेन्द्र लिङग्देनले पनि राप्रपा र राप्रपा नेपाल बिच एकताको टुंगो लागेको जानकारी दिएका छन् । उनले भनेका छन् ‘अन्ततोगत्वा राप्रपा र राप्रपा नेपाल बिच एकताको टुंगो लागेको छ। छरिएर रहेका सम्पूर्ण राष्ट्रवादी शक्तिहरुलाई ध्रुवीकरणमा सहभागी हुन हार्दिक आग्रह गर्दछु।’

२०७८ मंसिरमा राप्रपाको सातौं महाधिवेशनमा अध्यक्ष पदमा थापा लिङ्देनसँग पराजित भएका थिए। पार्टीको महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि पूर्वाध्यक्ष थापाले ०७८ माघ २५ गते राप्रपाबाट अलग भएको घोषणा गरेका थिए ।

०७८ को मंसिरमा भएको राप्रपाको महाधिवेशनमा थापाले पूर्वराजा र निर्मल निवासले हस्तक्षेप गरेर आफूलाई पराजित गराएको आरोप लगाएका थिए । थापाले ०७८ फागुन ७ गते राप्रपा नेपाल गठनको घोषणा गरेका थिए ।