• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

काठमाडौँ-४ बाट राप्रपाको उम्मेदवारमा चम्पा अधिकारी सिफारिस

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी निर्वाचनका लागि काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ बाट चम्पा अधिकारी (चाहना) लाई उम्मेदवार बनाउन सिफारिस गरेको छ। राप्रपाको स्थानीय समितिले अधिकारीलाई प्रत्यक्षतर्फको उम्मेदवार र समानुपातिकतर्फ १ नम्बर सूचीमा राख्न माथिल्लो कमिटीलाई सिफारिस गरेको हो।

अधिकारी यस क्षेत्रमा राप्रपाको ‘लोकप्रिय’ र ‘चर्चित’ अनुहारका रूपमा चिनिन्छन्। गत स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिएकी उनले सम्मानजनक ‘पपुलर मत’ प्राप्त गरेकी थिइन्। अत्यन्तै थोरै मतान्तरले मात्र पराजित भएकी अधिकारीले स्थानीय स्तरमा आफ्नो बलियो पकड बनाएको राप्रपाका स्थानीय नेताहरूको बुझाइ छ।

हाल राप्रपाको महिला संगठनको केन्द्रीय सचिवको जिम्मेवारीमा रहेकी अधिकारीलाई पार्टीभित्र ‘साझा र गतिशील’ (डाइनामिक) नेतृका रूपमा हेरिने गरिन्छ। उनलाई उम्मेदवार बनाउँदा राप्रपाको जित सुनिश्चित हुने दाबी स्थानीय नेताहरूले गरेका छन्।

राप्रपाका एक स्थानीय नेताले भने, “उहाँजस्तो ऊर्जाशील र जुझारु युवा नेतृले टिकट पाउँदा निर्वाचन जित्ने सम्भावना निकै बलियो छ। समानुपातिकबाट भए पनि वा प्रत्यक्षबाट भए पनि उहाँजस्ता सक्षम युवाहरूलाई पार्टीले अगाडि बढाउनुपर्छ भन्ने हाम्रो जोड हो।”

काठमाडौँ-४ मा युवा र महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न अधिकारीको उम्मेदवारीले थप उत्साह थपेको राप्रपा कार्यकर्ताहरूले बताएका छन्। स्थानीय समितिले सर्वसम्मत रूपमा उनको नाम सिफारिस गरेसँगै अब पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले यसबारे अन्तिम निर्णय लिनेछ।