काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका मेयर बालेन शाहबीच छलफल भइरहेको छ। ललितपुरको कुपण्डोलस्थित बालेन शाहका सहयोगी कुमार व्यन्जनकारको निवासमा दुईबीच छलफल चलिरहेको स्रोतले जानकारी दिएको छ।
केही दिनअघि दुई जनाबीच ६ घन्टा लामो भेटवार्ता भएको थियो। बालेनले बिहीबार बिहान ऊर्जा मन्त्री कुलमान घिसिङसँग पनि भेट गरेका थिए। लगत्तै उनले रवि लामिछानेसँग छलफलमा जुटेका हुन्। दुईबीच सहकार्य गर्ने वा छुट्टाछुट्टै अघि बढ्ने भन्ने विषय भेटबाट टुङ्गो लाग्ने निकटहरुले जनाएका छन्।
राष्ट्रिय राजनीतिमा नयाँ शक्तिको उदय गराउने लक्ष्यका साथ बालेनले राजनीतिक सक्रियता तीव्र पारेका छन् । आन्तरिक गृहकार्यमा जुटेका शाहले बुधबार ललितपुरमा विभिन्न क्षेत्रका ३० भन्दा बढी प्रभावशाली व्यक्तित्वहरूसँग सामूहिक तथा व्यक्तिगत परामर्श गरेका हुन् ।
आफ्ना निकट सहयोगी कुमार व्यन्जनकारको निवासमा बुधबारदेखि चलेको उक्त ‘गोप्य’ बैठकमा चिकित्सक, पूर्वप्रशासक, राजनीतिज्ञ, कलाकार र सञ्चार उद्यमीहरूको बाक्लो उपस्थिति थियो । छलफलमा सहभागीहरूका अनुसार बालेन आगामी निर्वाचनलाई लक्षित गरी शक्तिशाली टिम निर्माणको तयारीमा लागेका छन् ।
परामर्शमा वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइराला, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही, नेपाली कांग्रेसका नेता सुनिल शर्मालगायतका नेताहरू सहभागी थिए । यस्तै, पूर्वसचिव भीम उपाध्याय, विवेकशील साझाका पूर्वउपाध्यक्ष मिलन पाण्डे, अभियन्ताहरू सागर ढकाल, रक्षा बम र केपी खनालसँग पनि बालेनले बेग्लाबेग्लै संवाद गरेका छन् ।
महानगरका राजनीतिक सल्लाहकार सुनिल लम्सालको समेत उपस्थिति रहेको उक्त बैठकमा कलाकार निश्चल बस्नेत, सञ्चार उद्यमी सम्भव सिरोहिया, सञ्चारकर्मी सुरजसिंह ठकुरी र ऋषि धमला लगायतसँग बालेनले आगामी राजनीतिक बाटोबारे सुझाव मागेका थिए ।
परामर्शका क्रममा बालेनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग सोमबार भएको सात घण्टा लामो वार्ताबारे पनि ब्रिफिङ गरेका थिए । लामिछानेले बालेनलाई आगामी निर्वाचनमा ‘प्रधानमन्त्रीको उम्मेदवार’ बन्न प्रस्ताव गरेको चर्चा चले पनि बालेनले भने उक्त भेटमा कुनै ठोस सहमति नभएको बताएका छन् ।