काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रमुख तीन दलका शीर्ष नेताहरूसँगको भेटपछि आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचन सुनिश्चित भएको दाबी गरेका छन्।
शुक्रबार बिहानदेखि राजनीतिक भेटघाटमा सक्रिय मन्त्री खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन्।
खुमलटारमा प्रचण्डसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खरेलले भने, ‘मैले तीनवटा ठूला राजनीतिक दलका नेताहरूलाई भेटेँ। उहाँहरू सबैले हामी चुनावको विरोधी होइनौँ, चुनावबाट म्यान्डेट लिएर जानुपर्छ भन्ने निष्कर्ष सुनाउनुभएको छ। यसर्थ, फागुन २१ को चुनाव अब सुनिश्चित भयो।’
नेताहरूको धारणा: चुनावको विकल्प छैन
मन्त्री खरेलका अनुसार भेटका क्रममा तीनै जना नेताले निर्वाचन हुनुपर्नेमा स्पष्ट धारणा राखेका छन् ।
उनका अनुसार शेरबहादुर देउवाले नेपाली कांग्रेसको प्राथमिकता संसद् पुनर्स्थापना नभएको र चुनावमै जाने रहेको बताए । यसैगरी, एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुरक्षा र निर्वाचनको उचित वातावरण बनाउनुपर्ने बताए । यस्तै, पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प नरहेको बताए।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार निर्वाचन गराउन प्रतिबद्ध रहेको मन्त्री खरेलले दोहोर्याए। उनले निर्वाचन आयोग र सुरक्षा निकायहरू पूर्ण रूपमा तयार भइसकेको जानकारी दिए।