एउटा नयाँ अध्ययनका अनुसार विश्वका महासागरहरूमा अन्धकार बढिरहेको छ। पछिल्ला दुई दशकमा समुद्रको गहिराइसम्म प्रकाश पुग्न मुस्किल हुँदै गएको छ, जसलाई वैज्ञानिकहरूले ‘ओसियन डार्कनिङ’ (Ocean Darkening) नाम दिएका छन्।
बेलायतको युनिभर्सिटी अफ प्लाईमाउथले गरेको यो शोध ‘ग्लोबल चेन्ज बायोलोजी’ मा प्रकाशित छ। शोधका अनुसार सन् २००३ देखि २०२२ को बीचमा विश्वव्यापी महासागरको २१ प्रतिशत हिस्सा अन्धकारमय भएको छ।
के हो ‘ओसियन डार्कनिङ’?
समुद्रको माथिल्लो सतहमा आएको परिवर्तनका कारण पानीभित्र प्रकाशको प्रवेश कम हुनु नै ‘ओसियन डार्कनिङ’ हो।
समुद्रको जुन भागसम्म सूर्यको प्रकाश पर्याप्त रूपमा पुग्छ, त्यसलाई ‘फोटिक जोन’ (Photic Zone) भनिन्छ। समुद्री जीवनको ९० प्रतिशत हिस्सा यही जोनमा आश्रित हुन्छ र यो क्षेत्र जैव-रासायनिक चक्रलाई सन्तुलित राख्न निकै महत्त्वपूर्ण हुन्छ।
समुद्रमा किन छाउँदैछ अन्धकार?
अध्ययनका अनुसार यसको मुख्य कारण पानीमा लेउ (Algae) को सङ्ख्या बढ्नु र समुद्रको सतहको तापक्रममा आएको परिवर्तन हो।
१. प्रदूषण र पोषक तत्त्व: यो समस्या तटीय क्षेत्रहरूमा बढी देखिएको छ। भारी वर्षाका कारण जमिनबाट कृषिजन्य फोहोर र लेदो (Sediments) बगेर समुद्रमा पुग्छन्। यसले ‘प्ल्याङ्कटन’ नामक सूक्ष्म जीवहरूलाई पोषण दिन्छ, जसको सङ्ख्या अनियन्त्रित रूपमा बढ्दा प्रकाश तल जान पाउँदैन।
२. जलवायु परिवर्तन: जलवायु परिवर्तनका कारण विश्वका धेरै क्षेत्रमा भारी वर्षाका घटना बढेका छन्, जसले समुद्रलाई धमिलो बनाउन भूमिका खेलेको छ। बढ्दो तापक्रमले पनि प्ल्याङ्कटनको वृद्धिमा सहयोग पुर्याएको छ।
कुन-कुन क्षेत्र प्रभावित छन्?
अध्ययनमा अफ्रिका महादेशको आकार बराबरको क्षेत्र (महासागरको ९% भन्दा बढी भाग) मा फोटिक जोनको गहिराइमा ५० मिटर (१६४ फिट) सम्म कमी आएको पाइएको छ। त्यस्तै, २.६ प्रतिशत हिस्सामा १०० मिटरसम्म कमी आएको छ।
विशेष गरी गल्फ स्ट्रिम, आर्कटिक र अन्टार्कटिक क्षेत्रमा यसको गम्भीर असर देखिएको छ। यद्यपि, सबै ठाउँमा अन्धकार बढेको छैन; सोही अवधिमा समुद्रको करिब १० प्रतिशत हिस्सामा फोटिक जोनको गहिराइ बढेको (पानी सफा भएको) पनि पाइएको छ, जसले समुद्री वातावरणको जटिलतालाई देखाउँछ।
समुद्री जीवनमा कस्तो असर पर्छ?
समुद्रको ‘फोटिक जोन’ नै समुद्री जीवनको आधार हो। यहाँ पाइने ‘फाइटोप्ल्याङ्कटन’ (सूक्ष्म वनस्पति) ले सूर्यको प्रकाश प्रयोग गरी ‘प्रकाश संश्लेषण’ (Photosynthesis) मार्फत खाना बनाउँछन्। यी सूक्ष्म जीवहरूले वायुमण्डलको करिब आधा अक्सिजन उत्पादन गर्छन्। साना जीवदेखि ठूला माछासम्मको खाद्य शृङ्खला यिनैमा निर्भर हुन्छ।
युनिभर्सिटीका एसोसिएट प्रोफेसर डा. थोमस डेभिस भन्छन्, “हाम्रो शोधले विगत २० वर्षमा समुद्रको रङ कसरी बदलिएको छ भन्ने देखाउँछ। यो परिवर्तनले ती जीवहरूलाई असर गर्छ जो आफ्नो अस्तित्व र प्रजननका लागि सूर्यको प्रकाशमा निर्भर छन्।”
चिन्ताको विषय
वैज्ञानिकहरूका अनुसार ‘ओसियन डार्कनिङ’ को असर मानिसले फेर्ने सास (अक्सिजन) र खाने माछामा पर्न सक्छ। यसले जलवायु परिवर्तनसँग लड्ने पृथ्वीको क्षमतालाई पनि प्रभावित पार्न सक्छ।
प्रोफेसर टिम स्मिथ चेतावनी दिँदै भन्छन्, “प्रकाशको अभावले केही समुद्री जीवहरू सतहको नजिक आउन बाध्य हुन सक्छन्, जसले भोजन र स्रोतका लागि प्रतिस्पर्धा बढाउनेछ। यसले समग्र समुद्री पारिस्थितिकी प्रणाली (Ecosystem) मै आधारभूत परिवर्तन ल्याउन सक्छ।”
कसरी गरियो अध्ययन?
‘डार्कनिङ अफ द ग्लोबल ओसियन’ नामक यो अध्ययनका लागि शोधकर्ताहरूले करिब दुई दशकको भू-उपग्रह (स्याटेलाइट) तथ्याङ्क र नासाको ‘ओसियन कलर वेब डेटा’ को विश्लेषण गरेका थिए। यसका साथै सौर्य र चन्द्र विकिरण मोडेलहरूको प्रयोग गरी प्रकाशको स्थितिमा आएको परिवर्तनले जीवहरूलाई कसरी असर गर्छ भनी जाँच गरिएको थियो।
(बीबीसीमा प्रकाशित रिपोर्टको सम्पादित नेपाली अनुवाद)