• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

प्रधानमन्त्रीसँग ३ शीर्ष नेताहरूले भने-चुनावमा जान तयार छौँ

काठमाडौँ । प्रमुख ३ राजनीतिक दलहरू आउँदो फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुन तयार भएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीसँगको बैठकमा दलका प्रमुखहरुले निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

बैठकपछि पत्रकारहरुसँग प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै राजनीतिक दल निर्वाचनमा जान तयार रहेको बताए । देउवाले भने, “सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौँ । कांग्रेस पनि रेडी छ, एमाले पनि रेडी छ, अरु दल पनि रेडी छन् ।”

तर निर्वाचनको वातावरण अझै पूर्ण रूपमा नबनेको उल्लेख गर्दै उनले सरकारले आवश्यक वातावरण र सुरक्षाको व्यवस्था मिलाउनुपर्नेमा जोड दिए ।

बैठकमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेको बालुवाटार स्रोतको भनाई छ ।

नेताहरूले निर्वाचन सफल बनाउन सरकारको तर्फबाट शान्ति–सुरक्षा सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । सरकारले सुरक्षाको वातावरण बनाएको खण्डमा निर्वाचन निर्धारित मितिमै सम्पन्न हुने विश्वास उनीहरूले व्यक्त गरेका छन् ।