काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिने तयारी गरेका छन्।
फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्ने भएपछि बालेनले दुई हप्तापछि मेयरबाट राजीनामा दिने तयारी गरेका हुन्।
आइतबार बिहान ४ बजे राष्ट्रिय स्वतन्त्र पार्टीसँगको ७ बुँदे सहमति भएसँगै बालेनले महानगरको मेयर पदबाट राजीनामा गर्ने भएका हुन्। उनले महानगरको सबै प्रक्रिया पुर्याएर माघको ६ गतेसम्म राजीनामा दिने भएको महानगर स्रोतले जनाएको छ।
काठमाडौँ महानगरपालिकामा बालेनको कार्यकाल अझै १६ महिना बाँकी छ।
स्थानीय तह निर्वाचन ऐनले कुनै कारणबाट मेयर लगायतका जनप्रतिनिधिको पद रिक्त भए बाँकी अवधिका लागि उपनिर्वाचन हुने व्यवस्था गरेको छ।
तर त्यो बाँकी अवधि एक वर्षभन्दा कम भए उपनिर्वाचन नगर्ने व्यवस्था पनि कानुनमा उल्लेख छ।
काठमाडौं महानगरका मेयरबाट बालेनले अबको दुई साताभित्र राजीनामा दिएको अवस्थामा एक वर्षभन्दा बढी समय बाँकी हुने भएकाले उपनिर्वाचन गर्न कानुनले रोकेको छैन।
चुनाव भएर अर्को मेयर नआउन्जेल उपमेयरले कार्यवाहक भएर काम गर्ने कानुनी व्यवस्था छ। काठमाडौंका उपमेयर सुनिता डंगोल छिन्। उनी नेकपा एमालेबाट निर्वाचित भएकी हुन्।