• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति यूएईबाट पक्राउ

काठमाडौं । ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) र संगठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति बागलुङ नगरपालिका–२ श्रीनगर घर भएका जावेद अनवर दीन रहेको प्रहरीले जनाएको छ ।

एनसिबि अबुधाबी यूएईको समन्वयमा युएईबाट पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने र गराउने प्रयोजनले सोमबार नेपाल फिर्ता ल्याइएको हो ।

उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०७७ भदौ ८ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।

उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि केन्द्रीय अनुसन्धान ब्यूरो बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।