• २०८३ जेठ २०
  • 2026 June 03, Wednesday

रवि र बालेनसँग फेरि छलफलमा कुलमान

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले उज्यालो नेपाल पार्टीका कुलमान घिसिङसँग फेरि कुराकानी थालेका छन् ।

यो वार्ताका लागि आफूलाई जेन-जी अभियन्ता बताउने सुदन गुरूङसहित केही युवाहरूले कुलमानलाई लिएर गएका बताइएको छ । कुलमानलाई सुदनसहितका युवकले बौद्धको अन्तरा होटलमा जारी केन्द्रीय समिति बैठकबाट लिएर गएको बताइएको छ ।

समानुपातिकको बन्द सूची निर्वाचन आयोगमा बुझाउने समयअघि नै कुरा मिलाउन यी तीनजना छलफलमा बसेका हुन् । कुलमानको उज्यालो नेपालले समानुपातिकका ११० जनाकै सूची तयार गरिसकेको अवस्थामा फेरि त्रिपक्षीय वार्ता भएको हो ।

रवि र बालेनले आइतबार रातिसमेत कुलमानसँग छलफल गरेका थिए । रवि र बालेनबीच सम्झौता हुने बेला समेत उनलाई बोलाइएको थियो । तर त्यतिबेला उनी गएनन् ।

रवि–बालेन सहमतिबाट असन्तुष्ट कुलमानलाई फेरि समेट्नुपर्ने भन्दै बालेनले गृहकार्य अघि बढाएका थिए । निर्वाचन आयोगमा आजै समानुपातिकतर्फको सूची बुझाउनुपर्ने छ, त्यसअघि नै सहमति गर्ने प्रयास भइरहेको बताइएको छ ।

कुलमानले आगामी निर्वाचनपछि आधा–आधा कार्यकाल प्रधानमन्त्री हुनुपर्ने अडान राखिरहेका छन् । उता, रास्वपा प्रवेश गरेका बालेन जेन-जी आन्दोलनले आफूलाई पूरै पाँच वर्ष प्रम बन्ने म्यान्डेट दिएको आफूनिकटस्थलाई बताइरहेका छन् । यही विषयमा उनीहरूबीच सहमति जुट्न सकेको छैन ।

कुलमानले जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीसँग पनि संवाद गरिरहेका छन् । शर्मासँग एकै चुनाव चिह्नमा लड्ने गरी सहमति गर्न खोजिए पनि जुटेको छैन । प्रलोपले बन्दसूची बुझाइसकेको छ ।