काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल लाइफ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको ‘नेपाल लाइफ समृद्धि लगानी योजना’ नामक सामूहिक लगानी कोष (म्युचुअल फन्ड) लाई निष्कासन अनुमति दिएको छ।
बोर्डले मिति २०८२ पुस १३ गते यस योजनालाई इकाई बिक्री गर्न स्वीकृति प्रदान गरेको हो। अनुमति पाएसँगै अब नेपाल लाइफ क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरका १६ करोड इकाईहरू सर्वसाधारणमा जारी गर्नेछ। यो योजनाको कुल आकार १ अर्ब ६० करोड रुपैयाँ बराबरको हुनेछ।
यो नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कोष प्रवर्द्धक रहेको पहिलो बन्दमुखी योजना हो। यस योजनाको परिपक्व हुने अवधि १० वर्षको रहने बताइएको छ।
निष्कासन हुन लागेको यस योजनाका लागि कोष प्रवर्द्धक नेपाल लाइफ इन्स्योरेन्सले ‘[ICRANP-IR] AA-’ रेटिङ प्राप्त गरेको छ। यसले समयमै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा उच्च मात्रामा सुरक्षित रहेको जनाउँछ।
त्यस्तै, योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटलले ‘[ICRANP] AMC Quality 3 (AMC3)’ रेटिङ प्राप्त गरेको छ, जसले व्यवस्थापनको गुणस्तरमा पर्याप्त आश्वासन रहेको संकेत गर्दछ।
कम्पनीका अनुसार फन्ड बिक्रीबाट संकलित रकम धितोपत्र बोर्डमा दर्ता भएका धितोपत्र, सार्वजनिक निष्कासन भएका धितोपत्र, धितोपत्र बजारमा सूचीकृत धितोपत्र, बैंक निक्षेप, मुद्रा बजार उपकरणमा लगानी गरिनेछ। साथै, नेपाल सरकारले जारी गरेका वा नियन्त्रणमा रहेका निकायले जारी गरेको ऋणपत्र, ट्रेजरी बिल तथा मुद्रा बजारका अन्य साधनहरूमा पनि लगानी गरिनेछ।
योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटलले सम्पूर्ण प्रक्रियाहरू पूरा गरी चाँडै नै सर्वसाधारणका लागि इकाईहरू बिक्रीमा ल्याउने जानकारी दिएको छ।