बागलुङ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि.को १६औँ वार्षिक साधारण सभा अन्तर्गतको निर्णय प्रमाणिकरण सभा मंगलबार बागलुङ बजारमा सम्पन्न भएको छ ।
संस्थाले मिति २०८२ मंसिर १८ गतेदेखि पौष १० गतेसम्म २५ वटा सेवा केन्द्रमार्फत एकाइगत साधारण सभा सम्पन्न गरी सदस्यका राय, सुझाव तथा जिज्ञासा संकलन गरेको थियो । ती सभाबाट प्राप्त निर्णय, नीति तथा कार्यक्रमलाई एकीकृत गरी औपचारिक रूपमा प्रमाणिकरण गर्न आजाको सभा आयोजना गरिएको थियो ।
संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न सभामा नमुना स्वाभिमान सेवा केन्द्र भीमगिठेका सचिव रिता केसीले मञ्च तथा आसनग्रहण नहुने प्रणालीले सबै सदस्यलाई समान व्यवहार भएको अनुभूति गराएको बताउँदै यसले संस्थाप्रति अपनत्व बढाएको धारणा राखे। सहकारीप्रति देशभर फैलिएको नकारात्मक धारणा सिवाईसी साकोसले व्यवहारबाट चिरेको उनको भनाइ थियो । गल्कोट सदस्य सेवा केन्द्रका संयोजक खिमबहादुर शाहानीले गल्कोट क्षेत्रका सहकारीहरूले पनि सिवाईसीका नीति, कार्यक्रम र अभ्यासलाई अनुकरण गर्न थालेको जानकारी गराए ।
संस्थाका सल्लाहकार जनकराज पौडेलले विगतमा सहकारीसम्बन्धी कमजोर सरकारी नीतिका कारण असीमित सहकारी दर्ता भई अव्यवस्थित सञ्चालन हुँदा विकृति आएको उल्लेख गरे । सहकारी क्षेत्रमा पहिले तरलता अभाव र हाल अधिक तरलताको समस्या देखिएको बताउँदै लगानीको वातावरण कमजोर हुनु, बैंक तथा वित्तीय संस्थामा ब्याजदर घट्नु र नाफा वितरणमा कठिनाइ आउनुका कारण सेयर सदस्यमा असन्तुष्टि देखिएको उनले स्पष्ट पारे । यस्तो विषम अवस्थामा पनि सिवाईसी सुरक्षित रहनु र सेवा निरन्तर दिन सक्नु ठूलो उपलब्धि भएको उनको भनाइ थियो ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले संस्थाका वास्तविक मालिक सेयर सदस्य भएकाले संस्था जोगाउन सबैले जिम्मेवार र धैर्य हुनुपर्ने उनको भनाइ थियो । अध्यक्ष पौडेलका अनुसार सिवाईसी साकोसले आ.व. २०८२/८३ का लागि शेयर सदस्य संख्या २८ हजार र बाल बचतकर्ता ८ हजार पुर्याउने लक्ष्य लिएको छ । मोबाइल बैंकिङ, एटिएम, फोन पे तथा नेपाल पे क्युआर कोडजस्ता प्रविधिगत सेवाको प्रयोग कम्तीमा २५ प्रतिशतले बढाइने, सदस्य परिचयपत्र वितरणलाई व्यवस्थित बनाइ सेवाप्रदायकसँग छुटको व्यवस्था गरिने, असल ऋणीलाई ब्याजदरमा छुट तथा ऋण लगानीअघि व्यवसाय विकास कक्षमार्फत परामर्श सेवा उपलब्ध गराइने कार्यक्रम प्रस्ताव गरिएको छ ।
त्यसैगरी दीर्घकालीन तथा मासिक बचत प्रवर्द्धन, भाखा नाघेको ऋण असुलीका लागि कानुनी प्रक्रिया अवलम्बन, ऋण बीमा कार्यक्रमलाई निरन्तरता, तालिम, गोष्ठी तथा सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमलाई आगामी वर्षको प्राथमिकतामा राखिएको अध्यक्ष पौडेलले जानकारी गराए । समुदायस्तरमा घरदैलो कार्यक्रम, युवासँग युवा अभियान, विद्यालयस्तरमा सिवाईसी कार्यक्रम तथा सेवा केन्द्रको गुणस्तर सुधार गर्ने योजना पनि प्रस्तुत गरे ।
सभामा उठेका ऋण सुरक्षण कोष, नाफा वितरण, बचत फिर्तालगायत जिज्ञासाको जवाफ दिँदै अध्यक्ष पौडेलले अत्यन्तै खराब अवस्थामा रही लामो समयदेखि भाखा नाघेका ऋणीले सम्पूर्ण ऋण चुक्ता गरेमा हर्जना छुट दिने नीतिगत व्यवस्था गरिने बताए । सभामा स्वागत उपाध्यक्ष सीता सापकोटा र सञ्चालन सचिव ज्ञानेन्द्रराज पन्तले गरेका थिए । सभाले आ.व. २०८२/८३ का नीति तथा कार्यक्रम तथा सेवाकेन्द्रस्तरबाट आएका सबै निर्णयलाई छलफलपछि सर्वसम्मत रूपमा प्रमाणिकरण गर्दै कार्यक्रम सम्पन्न भएको छ ।