• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सिन्धु घाटी सभ्यताको अन्त्य कसरी भएको थियो ? नयाँ अनुसन्धानमा जान्नुहोस् कारण

सिन्धु घाटी सभ्यताको अन्त्य कसरी र कहिले भयो भन्ने विषय सधैं एउटा रहस्य रहँदै आएको छ। तर, हालै गरिएको एक अध्ययनले यसको पतन कुनै एउटा विनाशकारी घटनाले नभई शताब्दीयौंसम्म पटक-पटक परेको लामो खडेरीका कारण भएको निष्कर्ष निकालेको छ।

विगतमा यस सभ्यताको पतनबारे धेरै सिद्धान्तहरू पेस गरिएका छन्। कसैले युद्धका कारण सभ्यता नष्ट भएको भनेका छन् भने कसैले प्राकृतिक प्रकोप, सिन्धु नदीमा आएको बाढी वा नदीले धार परिवर्तन गरेका कारण सहरहरू पतन भएको अनुमान गरेका छन्। अर्को एक सिद्धान्त अनुसार, त्यस समयमा घग्गर नदी सुकेका कारण आसपासका मानिसहरू विस्थापित भएका थिए।

तर, आईआईटी गान्धीनगरका अनुसन्धानकर्ता र अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको टोलीले गरेको नयाँ शोधले अर्कै तथ्य अगाडि ल्याएको छ। यो अध्ययन ‘कम्युनिकेसन्स: अर्थ एण्ड इन्भायनमेन्ट’ (नेचर प्रकाशन) जर्नलमा प्रकाशित भएको छ।

चार ठूला खडेरीको सामना

अध्ययनको शीर्षक ‘नदीको खडेरीको दबाबले बदल्यो हडप्पा सभ्यताको स्वरूप’ राखिएको छ। शोधपत्रका अनुसार सिन्धु नदी नै प्राचीन सिन्धु घाटी सभ्यताको विकासको मुख्य आधार थियो, जसले कृषि, व्यापार र सञ्चारका लागि स्थिर जलस्रोत प्रदान गरेको थियो।

प्रारम्भिक हडप्पा कालको अध्ययन गर्दा यो सभ्यताले चारवटा प्रमुख खडेरीको सामना गरेको देखिन्छ:
– करिब ४४४५ देखि ४३५८ वर्ष अगाडि।
– ४१२२ देखि ४०२१ वर्ष अगाडि।
– ३८२६ देखि ३६६३ वर्ष अगाडिको अवधिमा।
– चौथो खडेरी ३५३१ देखि ३४१८ वर्ष अगाडि परेको थियो।

यी मध्ये तीनवटा खडेरीले सभ्यताको ८५ प्रतिशत हिस्सालाई प्रभावित पारेको थियो। दोस्रो र तेस्रो खडेरी क्रमशः १०२ र १६४ वर्षसम्म चलेको थियो। तेस्रो खडेरीको समयमा वार्षिक वर्षामा १३ प्रतिशतले कमी आएको थियो।

मानिसहरूको बसाइँसराइ र जीवनशैलीमा परिवर्तन

अध्ययनका प्रमुख लेखक तथा पीएचडी छात्र हिरेन सोलंकीका अनुसार सुरुमा हडप्पा सभ्यता पश्चिमी क्षेत्रमा थियो। तर खडेरी बढ्दै गएपछि मानिसहरू सिन्धु नदीको नजिक आए। पछि मध्य क्षेत्र अर्थात् सिन्धु नदीको किनारमा पनि सुख्खा भएपछि मानिसहरू सौराष्ट्र (गुजरात) र हिमालयका तल्लो भेगतिर सर्न बाध्य भए।

शोधपत्रका सह-लेखक प्रोफेसर विमल मिश्र भन्छन्, “विगतमा सिन्धु घाटी सभ्यताको पतन एक्कासी भयो भन्ने सिद्धान्तहरू थिए, तर हामीले यो शोधमा देखायौं कि त्यस्तो नभई यो सयौं वर्षसम्म चलेको खडेरीको शृङ्खला थियो। औसतमा एउटा खडेरी ८५ वर्षभन्दा बढी समयसम्म चलेको थियो।”

वैज्ञानिकहरूले लामो खडेरीको समयमा यस क्षेत्रको तापक्रममा करिब ०.५ डिग्री सेल्सियसको वृद्धि भएको र जसले पानीको अभावलाई अझ गम्भीर बनाएको पत्ता लगाएका छन्।

बालीनालीमा परिवर्तन

मनसुनको कमी र नदीहरूको प्रवाह घटेका कारण कृषि नराम्ररी प्रभावित भयो। पानीको अभावका कारण हडप्पावासीहरूले आफ्नो खेतीको तरिका बदल्न बाध्य भए।

सोलंकीका अनुसार, “मानिसहरूले गहुँ र जौ जस्ता बाली छोडेर कम पानीमा फल्ने कोदो (बाजरा) खेतीतर्फ लागे। सुख्खा बढ्दै गएपछि ठूला सहरहरू साना बस्तीहरूमा परिणत हुन थाले।”

आजको अवस्था अझ खतरनाक

साउथ एसिया नेटवर्क अन ड्याम्स, रिभर एण्ड पिपुलका संयोजक हिमांशु ठक्करका अनुसार यो शोधले प्राकृतिक घटनाको कुरा गरेको छ। तर वर्तमान अवस्था त्यो भन्दा फरक र जोखिमपूर्ण छ।

उनी भन्छन्, “आज हाम्रो भूजल, नदी र वनजंगल तीव्र गतिमा क्षय भइरहेका छन्। त्यतिबेला जे भयो त्यो प्राकृतिक थियो, तर आज जे भइरहेको छ त्यो मानव सिर्जित हो, जुन धेरै खतरनाक छ।”

– बीबीसी हिन्दीबाट ।