• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

१ हजारका ९३ थान नक्कली नोटसहित ६ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको गोकर्णेश्वरबाट नेपाली एक हजार दरका नक्कली नोटसहित ६ जनालाई पक्राउ गरेको छ । नक्कली नोटको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको संयुक्त टोलीले बुधबार राति ९:३० बजेको समयमा उनीहरूलाई नियन्त्रणमा लिएको हो । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल चोकमा चेकजाँच गर्दा उनीहरूको साथबाट एक हजार दरका ९३ थान (रु. ९३,०००) नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा अधिकांश सिन्धुपाल्चोक जिल्लाका नागरिक रहेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–२ घर भई हाल काठमाडौं शंखरापुर–४ साँखु बस्ने दावा नोर्बु शेर्पा (३२ वर्ष) र पासाङ शेर्पा (४४ वर्ष), सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–३ घर भई हाल काठमाडौं शंखरापुर–४ साँखु बस्ने प्रकाश गुरुङ (३२ वर्ष), सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१० घर भई काठमाडौं शंखरापुर–४ साँखु बस्ने रेणुका भारती (४२ वर्ष), सिन्धुपाल्चोक बलेफी गाउँपालिका–२ घर भई चौतारा–६ बस्ने गोकर्ण थापा (६५ वर्ष), काठमाडौं शंखरापुर नगरपालिका–३ बस्ने सुकबहादुर स्याङ्बो (४३ वर्ष) रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले पक्राउ परेका सबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।