• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

दुर्गा प्रसाईंले सरकारलाई दिए आइतबारसम्मको अल्टिमेटम, सहमति नभए आन्दोलन गर्ने चेतावनी

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं नेतृत्वको टोलीले छलफल गरेको छ । छलफलमा लघुवित्त, सहकारी समस्या र जेनजीका मागबारे कुराकानी भएको छलफलपछि प्रसाईंले बताए ।

आफूहरूले अघि सारेका मागबारे सरकारका तर्फबाट आइतबारसम्मको समय मागेको र उक्त समयसम्म आफू पर्खने प्रसाईंको भनाइ छ । वार्तापछि पत्रकारसँग बोल्दै प्रसाईंले आइतबारसम्म सरकारले समय मागेको दाबी गरे । प्रसाईंले भने, ‘उहाँहरूले आइतबारसम्म समय माग्नुभएको छ, त्यसदिनसम्म सहमति नभए आन्दोलनमा जान्छौँ ।’

राजसंस्थाको बारेमा जनमत संग्रह न्यूनतम माग भएको उनले दाबी गरे । प्रसाईंले जेन–जीको एउटा पक्षलाई रुवाएर चुनाव सम्भव नभएको पनि दाबी गरे । उनले भने, ‘नक्कली टिमलाई बोकेर चुनाव जान खोजियो भने सम्भव छैन ।’

साथै, उनले सहकारी र लघुवित्त पीडितको घरजग्गा लिलाम नगर्दिन आग्रह गरेको पनि बताए । घरजग्गा लिलाम गरिए गाउँबाट वित्तिय संस्था लखेट्ने पनि दाबी गरे । वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले २४ भदौका दोषी र भ्रष्टाचारीलाई कारबाही गर्न नसक्ने जवाफ दिएको पनि प्रसाईंको भनाइ छ ।

भेटवार्तामा गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार मन्त्री जगदीश खरेल र अर्थमन्त्री रामेश्वर खनाल पनि सहभागी थिए । यसअघि पनि प्रसाईंले आफ्नो समूहले गत मङ्सिर ६ देखि नै राख्दै आएका मागहरूको पूर्ण कार्यान्वयनका लागि ध्यानाकर्षण गराएका थिए ।