काठमाडौँ । काठमाडौँको बुढानिलकण्ठस्थित ‘गरुड क्यासिनो’ मा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बुढानिलकण्ठ नगरपालिका–१ तौलुङस्थित उक्त क्यासिनोमा छापा मार्दा नेपालीहरूलाई प्रवेश गराई, रकम डिपोजिट लिएर जुवा खेल्न प्रयोग हुने चिप्स दिई हारजित हुने गरी जुवा खेलाइरहेको भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा सिन्धुपाल्चोक मेलम्ची घर भई हाल काठमाडौँको बाँसबारी बस्ने ६५ वर्षीय पशुपति खड्का, महोत्तरी बर्दिबास घर भई गोकर्णेश्वर बस्ने ४६ वर्षीय दयाराम राना र काठमाडौँ महानगरपालिका–६ रामनगर बौद्ध बस्ने ५३ वर्षीय भरतराज पौडेललाई पक्राउ गरेको छ। त्यस्तै, दोलखा मेलुङ घर भई बुढानिलकण्ठ बस्ने ४० वर्षीय सन्तोष भण्डारी र खोटाङ खोटेहाङ घर भई बसुन्धारा बस्ने २४ वर्षीय गणेश बहादुर मगर पनि पक्राउ परेका छन्।
पक्राउ परेकाहरूका साथबाट प्रहरीले ‘गरुड क्यासिनो’ र रकम उल्लेख गरिएका सुन्तला, पहेँलो, रातो र नीलो रङका विभिन्न दरका चिप्सहरू बरामद गरेको छ। उनीहरू विरुद्ध ‘जुवा खेल्न वा खेलाउन नहुने’ कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट ७ दिनको म्याद थप अनुमति लिई जिल्ला प्रहरी परिसर काठमाडौँले थप अनुसन्धान अघि बढाएको प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिए।