• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

यस्तो छ कांग्रेसको संकट समाधानका लागि विश्वप्रकाश शर्माले सुझाएको विकल्प

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएको आन्तरिक संकट समाधानका लागि ‘विशेष महाधिवेशन’ को विकल्प अघि सारेका छन्। नियमित महाधिवेशनको समय घर्किएपछि उत्पन्न संवैधानिक र राजनीतिक जटिलता चिर्न उनले दुई दिनभित्रै नीति र नेतृत्व टुंगो लगाउने ‘फास्ट ट्रयाक’ मोडल सुझाएका हुन्।

शुक्रबार पार्टी कार्यालयमा पत्रकारहरुसँग कुराकानीका क्रममा शर्माले उक्त सुझाएका हुन् । महामन्त्री शर्माले पार्टीभित्रको अहिलेको विवाद इजरायल–प्यालेस्टाइन वा रुस–युक्रेन युद्ध जस्तो जटिल नभएको भन्दै यसलाई सहजै समाधान गर्न सकिने दाबी गरे।

यस्तो छ शर्माले सुझाएको ३ चरणको विकल्प

महामन्त्री शर्माले नियमित महाधिवेशन गर्न नसकिएको अवस्थामा विशेष महाधिवेशनमार्फत निकास निकाल्न सकिने भन्दै निम्न कार्यतालिका सहितको विकल्प प्रस्तुत गरेका छन्:

१. पहिलो दिन (२६ गते): केन्द्रीय कार्यसमितिले मिति तोकेर (प्रस्तावित २६ गते) बिहान ९ बजे विशेष महाधिवेशनको उद्घाटन गर्ने। जम्मा एक घण्टाको उद्घाटन समारोहपछि बन्द सत्र सुरु गर्ने।

२. नीति निर्माण: बन्द सत्रमा पार्टीले देशलाई हेर्ने दृष्टिकोण, आर्थिक-सामाजिक मुद्दा, र पछिल्लो समय ‘जेन्जी’ पुस्ताले उठाएको सुशासनको मुद्दालाई सम्बोधन गर्ने गरी दस्तावेज पारित गर्ने।

३. नेतृत्व चयन (२७ गते): २६ गते अपराह्न २ देखि ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने। भोलिपल्ट २७ गते बिहान ७ बजेदेखि १२ बजेसम्म भोटिङ मेसिन प्रयोग गरी मतदान गर्ने र साँझ ५ बजे नयाँ नेतृत्व घोषणा गर्ने।

‘कांग्रेस फुट्दैन, ढुक्क हुनुस्’

सञ्चारकर्मीहरूसँग कुरा गर्दै शर्माले कांग्रेस फुट्ने हल्लाको खण्डन गरे। उनले भने, ‘अहिलेको समस्या इजरायल–प्यालेस्टाइन वा रुस–युक्रेनको युद्ध जस्तो होइन, न त नेपालको १० वर्षे द्वन्द्व जस्तो हो। यो सबै मिलाउने तागत कांग्रेससँग छ।’

उनले आफू अहिले जसरी मुस्कुराइरहेको छ, हप्ता–दश दिनपछि पनि त्यसरी नै मुस्कुराउने भन्दै कार्यकर्तालाई आश्वस्त पारे। ‘तपाईंहरूले देख्नुहुनेछ, नेपाली कांग्रेस पार्टी फुट्दैन, एक ढिक्का रहन्छ। विधानको व्यवस्था बमोजिम नै हामी निकास दिन्छौँ,’ उनले भने।

नियमित महाधिवेशन स्थगनको बाध्यता

शर्माले राष्ट्रिय परिस्थितिका कारण नियमित महाधिवेशन गरेरै नेतृत्व र नीति परिवर्तन गर्नुपर्ने भए पनि समय अभावका कारण मिति तोकेर पनि सिमित काम मात्र गर्न सकिएको स्वीकार गरे।

हिजो मात्रै दुई महामन्त्रीले संयुक्त वक्तव्य जारी गर्दै नियमित महाधिवेशन स्थगनको सूचना दिएको र त्यसलाई आगामी केन्द्रीय समिति बैठकबाट अनुमोदन गराइने उनले जानकारी दिए। उनले विशेष महाधिवेशनको यो प्रस्ताव कार्यसम्पादन समितिमा पनि छलफल गरिने बताएका छन्।