काठमाडौं । नेपाली कांग्रेसका युवा नेता दिपेन्द्र राज जोशीले विपन्न तथा जेहेन्दार युवाहरूका लागि आकर्षक छात्रवृत्ति घोषणा गरेका छन्।
सुदूरपश्चिमको विकट जिल्ला बझाङमा जन्मेका जोशी हाल त्रिभुवन विश्वविध्यालयबाट वातावरण विज्ञान विषयमा विद्यावारिधि अध्ययन गरिरहेका छन्। आफ्नै गाउँ–समाजमा भोगेको शैक्षिक अभावलाई आधार बनाएर उनले आर्थिक रूपमा कमजोर युवाहरूका लागि छात्रवृत्ति कार्यक्रम सार्वजनिक गरेका हुन् ।
विद्यार्थी राजनीति, संगठनात्मक नेतृत्व र सामाजिक कार्यमा सक्रिय जोशी मृदुभाषी, युवा पुस्तामाझ लोकप्रिय र अग्रजप्रति सम्मानलाई प्राथमिकतामा राख्ने नेताका रूपमा परिचित छन्। यही कारण उनी जिल्लामा उदाउँदो राजनीतिक अनुहारका रूपमा स्थापित हुँदै गएका छन्।
‘जहाँ अभावले सपना रोक्छ, त्यहाँ बझाङका छोरा दिपेन्द्र जोशीको आशा पुग्छ’ भन्ने सन्देशसहित उनले छात्रवृत्ति घोषणा गरेका हुन्। उनका अनुसार सुदूरपश्चिमका पहाडी गाउँमा आज पनि आर्थिक अभावकै कारण धेरै युवाका शैक्षिक सपना अधुरा छन्, र शिक्षा पहुँच विस्तार नगरी सामाजिक रूपान्तरण सम्भव छैन।
घोषणाअनुसार सुदूरपश्चिमभरिका १० जना विद्यार्थीलाई बीबीए अध्ययनका लागि ७० प्रतिशत छात्रवृत्ति, ५ जनालाई एमबीए अध्ययनका लागि ५० प्रतिशत तथा बीएससी सीएसआईटी अध्ययन गर्न चाहने ५ जना विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ। यी सबै छात्रवृत्ति काठमाडौंको नयाँ बानेश्वरस्थित महर्षि कलेजमा अध्ययनका लागि लागू हुनेछन्।
जोशीले भने, ‘यो पहल आर्थिक सहयोगमा मात्र सीमित छैन। ‘सपना धनी हुनुपर्छ, परिवार होइन’ भन्ने विश्वाससहित सुदूरपश्चिमका युवाको क्षमता र सम्भावनाप्रति गरिएको सार्वजनिक प्रतिबद्धता हो।’
आर्थिक कारणले क्याम्पसको ढोकाबाट फर्किनु नपरोस् भन्ने उद्देश्यसहित गरिएको यो निर्णयले शिक्षा नै सामाजिक रूपान्तरणको आधार हो भन्ने तथ्यलाई पुनः स्थापित गर्ने अपेक्षा गरिएको छ। बझाङबाट सुरु भएको यो पहल सुदूरपश्चिमभरिका युवाका सपनासँग जोडिने आशा छ ।