• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

बालेनका सल्लाहकार ललितपुर–१ बाट प्रतिनिधि सभामा चुनाव लड्ने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुर क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरेन्द्र बजगाईंलाई उम्मेदवार बनाउने तयारी गरेको छ।

महांकाल गाउँपालिका–४, कालेश्वरका स्थायी बासिन्दा बजगाईं हाल काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहको टिममा सक्रिय छन्। उनी महानगरको सहरी योजना आयोगमा शिक्षा, स्वास्थ्य, सामाजिक, वातावरण तथा विपद् व्यवस्थापनको क्षेत्रमा कार्यरत छन्।

रास्वपा स्रोतका अनुसार ललितपुर–१ मा प्रत्यक्षतर्फको उम्मेदवार खोजी भइरहँदा बजगाईंको नाम प्राथमिकतामा परेको हो। बालेन निकट मानिने बजगाईंलाई नै उक्त क्षेत्रका लागि उपयुक्त पात्रका रूपमा हेरिएको पार्टीका एक नेताले बताए।

बजगाईंको नाम यसअघि रास्वपाको समानुपातिक बन्दसूचीमा पनि प्रस्ताव गरिएको थियो। मेयर बालेनको सचिवालय र ‘जेन-जी’ समूहले समेत उनलाई समानुपातिकमा अगाडि सारेको थियो।

काठमाडौँ महानगरका मेयर बालेनको प्रेस सल्लाहकारको भूमिका समेत निर्वाह गरिसकेका उनलाई वैकल्पिक राजनीतिक धारको एक सशक्त युवा प्रतिनिधिका रूपमा लिने गरिएको छ।