• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

भेनेजुएलामाथि अमेरिकी सैन्य आक्रमणको निन्दा, कूटनीतिक समाधान खोज्न नेपाली विज्ञहरूको आग्रह

काठमाडौँ । संयुक्त राज्य अमेरिकाद्वारा भेनेजुएलामाथि हालै गरिएको सैन्य आक्रमणप्रति ‘अन्तर्राष्ट्रिय सम्बन्ध सरोकार समुदाय नेपाल’ ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

शनिबार (पुस १९ गते) अन्तर्राष्ट्रिय सम्बन्धका जानकारहरूबीच भएको अन्तरक्रियापछि निष्कर्षसहितको विज्ञप्ति जारी गर्दै समुदायले उक्त घटनाको निन्दा गरेको हो। समुदायका संयोजक डा. हरि प्रकाश चन्दले कुनै पनि सार्वभौम राष्ट्रको भौगोलिक अखण्डता, राजनीतिक स्वतन्त्रता तथा सार्वभौमिकताको सम्मान गर्नु अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत सिद्धान्त रहेको बताउँदै अमेरिकाको बल प्रयोग संयुक्त राष्ट्रसंघको बडापत्रको धारा २(४) विपरीत रहेको बताए।

विज्ञप्तिमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय विवादहरूको समाधान संवाद, कूटनीति र शान्तिपूर्ण उपायहरू मार्फत खोजिनुपर्ने मान्यतामा हामी दृढ विश्वास राख्दछौं। एकपक्षीय सैन्य हस्तक्षेपले विश्व शान्ति, क्षेत्रीय स्थायित्व तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्थालाई कमजोर बनाउने जोखिम छ।’

समुदायले नेपालको परराष्ट्र नीतिको मूल मर्मलाई स्मरण गराउँदै असंलग्नता, पञ्चशीलका सिद्धान्त, विश्व शान्ति, अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको बडापत्र नेपालको आधारस्तम्भ भएको उल्लेख गरेको छ। यी आधारस्तम्भले विश्वका हरेक मुद्दालाई शान्तिपूर्ण संवादमार्फत समाधान गर्न जोड दिने भन्दै विज्ञहरूले अमेरिका र भेनेजुएलाबीचका द्विपक्षीय मुद्दाहरूलाई पनि शान्तिपूर्ण कूटनीतिक माध्यमबाट हल गर्न अपिल गरेका छन्।

अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञहरूले एक्काइसौँ शताब्दीको विश्व युद्ध, रक्तपात, दवदवा र मानव अधिकारको गम्भीर उल्लंघनबाट मुक्त हुनुपर्नेमा जोड दिएका छन्। उनीहरूले निर्देशित प्रजातन्त्रको साटो समान सम्बन्ध, सम्मानपूर्ण व्यवहार र विश्वासपूर्ण कूटनीतिक संवाद आवश्यक रहेको औँल्याएका छन्।

विज्ञप्तिमार्फत महाशक्ति राष्ट्रहरूलाई मानव जातिको साझा भविष्य र गन्तव्य पूरा गर्न युद्ध तथा सैन्य आक्रमणको बाटो त्यागेर विश्वका सम्पूर्ण देशहरूलाई साझा साझेदारको व्यवहार गर्न आग्रह गरिएको छ।