• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

राष्ट्रियसभा निर्वाचनको तयारीका लागि एमाले सचिवालयको बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बिहान बस्दै छ। समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रियसभा निर्वाचनमा भोलि हुने मनोनयन र केन्द्रीय कमिटीका एजेन्डा तय गर्न बैठक बस्न लागेको हो।

पार्टी केन्द्रीय सचिव पद्मा अर्यालका अनुसार बैठक बिहान ९ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।

आजको बैठकमा नेताहरूको कार्य विभाजन पनि प्रमुख एजेन्डाका रूपमा रहेको एक पदाधिकारीले जानकारी दिएका छन्। उनका अनुसार देश निर्वाचनतर्फ उन्मुख भएकाले हाललाई अस्थायी कार्य विभाजन गरेर अघि बढ्ने तयारी एमालेको छ।

सो तयारीअनुसार मुख्य–मुख्य विभागका प्रमुख, प्रदेश इन्चार्जहरूलाई संयोजकको जिम्मेवारी दिने तथा जिल्ला इन्चार्जहरूलाई पनि संयोजककै भूमिकामा परिचालन गर्ने योजना रहेको बताइएको छ।

यसैगरी, आजको सचिवालय बैठकले यही २६ गते बस्न लागेको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिने निर्वाचन केन्द्रित केही रणनीतिहरू पनि तय गर्ने बताइएको छ ।