• २०८३ असार १५
  • 2026 June 29, Monday

राष्ट्रियसभा निर्वाचनः यी हुन् एमालेका उम्मेदवार

काठमाडौं । नेकपा (एमाले)ले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ६ जना उम्मेदवारको नाम टुंगो लगाएको छ।

एमालेले अन्य राजनीतिक दलसँगको गठबन्धनमार्फत सात सिट पाएको भए पनि मधेश प्रदेशबाट एक जना उम्मेदवारको नाम भने अझै तय हुन बाँकी रहेको जनाएको छ।

एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच राष्ट्रियसभा निर्वाचनमा तालमेल भएको छ। सोही तालमेलअनुसार एमालेले सात सिटमा दाबी गरेको छ ।

एमालेले प्रदेशगत रूपमा कोशी प्रदेशबाट रोशनी मेचे, बागमती प्रदेशबाट डा. प्रेमकुमार दंगाल, गण्डकी प्रदेशबाट सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, कर्णाली प्रदेशबाट मीना रखाल र सुदूरपश्चिम प्रदेशबाट लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

पार्टी सचिवालयमा भएको छलफलपछि अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारहरूको नाम टुंगो लगाएका हुन्। मधेश प्रदेशबाट एक जनाको नामबारे भने छलफल जारी रहेको पार्टी स्रोतले जनाएको छ।

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम तय गरेको छ। आयोगका अनुसार आज बिहानदेखि दिउँसोसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरिनेछ।