• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

राष्ट्रियसभा उम्मेदवार चयनमा गगन थापाको आपत्ति: ‘विधि मिचियो, नेताका खल्तीका मान्छे छानिए’

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार चयन गर्ने प्रक्रियाप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। उनले सैद्धान्तिक रूपमा अन्य दलसँग गरिएको गठबन्धन र उम्मेदवार छनोटको विधि दुवैमा आफ्नो असहमति रहेको स्पष्ट पारेका हुन्।

बुधबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री थापाले कांग्रेसले पूर्ण रूपमा प्रक्रिया र विधिविधान मिचेर उम्मेदवार चयन गरेको आरोप लगाए। उनले कांग्रेस र एमालेबीचको चुनावी तालमेललाई ‘नेताका गोजीका मान्छे’ व्यवस्थापन गर्ने रणनीतिका रूपमा व्याख्या गरे।

“तालमेल कसरी मिलाइएको छ भने, नेपाली कांग्रेस र एमालेभित्र आफ्ना खल्तीका मान्छे जो-जोलाई बनाउनुपर्ने छ, त्यही अनुसारको क्लष्टर आफ्नो भागमा पारिएको छ,” थापाले भने, “एमालेलाई जहाँ आफ्नो मान्छे ल्याउनु छ, ठ्याक्कै त्यही क्लष्टर लिएको छ। कांग्रेसमा पनि पार्टीको होइन, नेताको आफ्नो खल्तीको मान्छे जो छ, उसैलाई मिल्ने गरी क्लष्टर छानिएको छ।”

थापाका अनुसार यसरी भागबण्डा गर्दा कांग्रेसले यसपटक जनजाति र मुस्लिम क्लष्टरबाट एक जना पनि उम्मेदवार छनौट गरेको छैन। यो प्रक्रियामा आफ्नो र अर्का महामन्त्री विश्वप्रकाश शर्माको लिखित असहमति रहेको उनले जानकारी दिए।

पार्टीभित्र आफूहरूलाई घेराबन्दी गर्न खोजिएको दाबी गर्दै थापाले नेतृत्वलाई चेतावनी समेत दिएका छन्। उनले भने, “नेपाली कांग्रेसमा पछिल्लो समय विधान मिच्ने क्रम कहाँसम्म पुगेको छ भने, म र विश्वप्रकाश शर्माले आफ्नो भूमिका निर्वाह गर्दा हामीविरुद्ध सबै मिल्ने र घेराबन्दी गर्ने काम भइरहेको छ।”

थापाले अगाडि थपे, “तपाईंहरूको यो घेरा सानो छ, तर पार्टीको घेरा ठूलो छ। संख्याको दम्भ राखेर हामीलाई घेराबन्दी गर्दा हामी व्यक्तिगत रूपमा कमजोर हुने होइनौं, बरु यसले जनजाति र मुस्लिम समुदायलाई घेराबन्दीमा पारेको छ। यस्तो व्यवहारले हामीलाई झन् ठूलो घेरा (आम जनता र कार्यकर्ता) तिर जान बाध्य पार्दैछ।”

माघ २१ गते रिक्त हुने १९ सिटका लागि हुन लागेको राष्ट्रियसभा निर्वाचनमा कांग्रेसले ९, एमालेले ८ र जसपाले १ सिटमा भागबण्डा गरेका छन्। भागबण्डामा कुरा नमिलेपछि अन्य केही दलहरू भने गठबन्धनबाट बाहिरिएर एक्लै प्रतिस्पर्धा गर्ने तयारीमा छन्।