काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र गगनकुमार थापाले पार्टी विशेष महाधिवेशन आह्वान गरेका छन् । बुधबार संयुक्त वक्तव्य जारी गर्दै महामन्त्रीहरूले पोष २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने गरी विशेष महाधिवेशन बोलाएका हुन् ।
उनीहरुले पार्टी संस्थापन पक्षले विधान बमोजिम बाध्यकारी रहेको विशेष महाधिवेशन नबोलाउनु, विधानको पालना नगर्नु, जिम्मेवारी बमोजिम काम नगर्नु विधान र राजनीतिक दलसम्बन्धी कानुनको समेत विपरीत रहेको ठहर गरेका छन् । यद्यपि, एउटा लोकतान्त्रिक पार्टीको जिम्मेवार पदाधिकारीको रूपमा सो कार्य आफूहरुको वैधानिक एवं नैतिक दायित्व र जिम्मेवारी भएका भन्दै विशेष महाधिवेशन बोलाइएको उनीहरुको भनाई छ ।
“विधानको धारा ३ (२) तथा धारा २७ (१) समेतको व्यवस्थालाई आत्मसात गर्दै नेपाली कांग्रेसको विधानको धारा २७ (२) अनुसार मिति २०८२ पोष २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा हुन गइरहेको विशेष महाधिवेशनमा सहभागि भई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई हार्दिक आह्वान गर्दछौँ,” जारी विज्ञप्तीमा भनिएको छ ।

उता, आजै मात्र काँग्रस मुख्य सचिव कृष्णप्रसाद पौडेलले विशेष महाधिवेशनमा सहभागी नहुन भन्दै विज्ञप्ति जारी गरेका थिए ।
“पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधान विपरीत हुने हुँदा त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका पदाधिकारी एवं सदस्यहरू, महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, भ्रातृ एवं शुभेच्छुक संस्था तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिका पदाधिकारी एवं सदस्यहरूलाई नेपाली काँग्रेस हार्दिक अपिल गर्दछ,” पौडेलद्धारा जारी विज्ञप्तिमा भनिएको थियो ।”
