काठमाडौँ । सन्देश (नाम परिवर्तन) इस्लिङ्टन कलेजबाट सन् २०२४ मा उत्तीर्ण विद्यार्थी हुन् । उनले इस्लिङ्टबाट फाइनान्सलाई मुल विषय बनाएर बिबिए अध्ययन गरे । उनले राम्रै नतिजासहित बिबिए पास गरे ।
बिबिए सकेपछि उनले मास्टर्सका लागि जर्मनी जाने सोचले जर्मन विश्वविद्यालयहरूमा अप्लाइ गर्न थाले । तर उनले अप्लाइ गरेका सबै विश्वविद्यालयले उनको आवेदन अस्वीकार गरिदिए । जसको कारण थियो, उनको ‘लो क्रेडिट आवर’ ।
इस्लिङ्टनमा फाइनान्स मुल विषय भएको ३ वर्षे बिबिए कोर्स पढाई हुन्छ । जसको क्रेडिट आवर १५/७.५ ईसिटिएस (युरोपियन क्रेडिट ट्रान्सफर एन्ड एक्युमुलेसन सिस्टम) छ । जर्मन विश्वविद्यालयहरूले यसैलाई कारण बनाएर उनको एप्लिकेसन स्वीकार गरेनन् ।
“जर्मनका विश्वविद्यालयहरूले मास्टर्सको लागि प्रति कोर्स ३० ईसिटिएस खोज्दा रहेछन्, मेरो डिग्रीको प्रति कोर्स ७.५ ईसिटिएस मात्र थियो । यही कारण जर्मनी गएर मास्टर्स पढ्ने मेरो सपना पूरा हुन सकेन,” सन्देशले भने ।
यस्तो समस्या भोग्ने सन्देश इस्लिङ्टन कलेजका एक्ला विद्यार्थी हैनन् । सन्देश जस्तै एलिना (नाम परिवर्तन) ले समेत उस्तै समस्या सामना गर्नुपर्यो । मास्टर्सका लागि अमेरिका ‘अप्लाइ’ गरेकी उनले ३ वर्षे ब्याचलर डिग्री भएकै कारण भिसा अस्वीकृति भोग्नु पर्यो ।
अमेरिका जान आईएलटिएसमा ७.५ अंक ल्याएर भिसाका लागि सम्पूर्ण तयारी समेत पूरा गरेकी एलिनाले ३ वर्षे डिग्री भएकै कारण अमेरिका जानबाट वञ्चित हुनपर्यो ।
“आईएलटिएस, प्रेजेन्टेसन, कन्फिडेन्स; मैले सबै कुरामा राम्रो गरेकी थिएँ । तर, भिसा अफिसरले तिम्रो त १५ वर्षको एकेडेमिक मात्र रहेछ भन्दै भिसा रिजेक्ट गरिदिए,” एलिनाले अनुभव सुनाइन् ।
३ वर्षे ब्याचलर डिग्रीलाई सबै देशले मान्यता दिँदैनन् । यसो हुनुको मुख्य कारण यसको शैक्षिक संरचना र अन्तर्राष्ट्रिय शिक्षा प्रणालीसँगको असमानता हो ।
धेरै देशहरूमा मास्टर्स अध्ययनका लागि कम्तीमा १६ वर्षको औपचारिक शिक्षा आवश्यक मानिन्छ । जसअन्तर्गत १२ वर्षको विद्यालय शिक्षापछि ४ वर्षको ब्याचलर अध्ययन पूरा गरेको हुनुपर्छ ।
तर ३ वर्षे ब्याचलर डिग्रीले जम्मा १५ वर्षको शिक्षा मात्र पूरा गर्छ । यसले गर्दा यसलाई एक वर्षले अपूरो ठहर गरिन्छ । यही कारणले गर्दा धेरै अन्तर्राष्ट्रिय विश्वविद्यालय र पेसागत निकायहरूले यस डिग्रीलाई पूर्ण ब्याचलर सरह स्वीकार गर्दैनन् ।
अर्को महत्त्वपूर्ण समस्या क्रेडिट आवरको असमानता हो । सामान्यतया ४ वर्षे ब्याचलर डिग्रीमा १२० देखि १४० क्रेडिट घण्टा पूरा गरिन्छ भने ३ वर्षे ब्याचलरमा प्रायः ९० देखि १०० क्रेडिट मात्र हुन्छ ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार यो क्रेडिट संख्या मास्टर्स अध्ययन वा पेसागत तालिमका लागि अपर्याप्त मानिन सक्छ । पाठ्यक्रम राम्रो भए पनि आवश्यक अध्ययन घण्टा नपुगेको कारण ३ वर्षे डिग्रीलाई शैक्षिक रूपमा अपूर्ण भनेर मूल्याङ्कन गरिने अवस्था देखिन्छ ।
३ वर्षे डिग्रीले पेसागत मान्यता र लाइसेन्स प्राप्त गर्ने प्रक्रियामा पनि समस्या निम्त्याउँछ । इन्जिनियरिङ, शिक्षा, चिकित्सा, कानुन जस्ता पेसाहरूमा पेसागत निकायहरूले तोकेको न्यूनतम अध्ययन अवधि र तालिम आवश्यक हुन्छ । ३ वर्षे ब्याचलर डिग्रीले यी कानुनी तथा पेसागत मापदण्ड पूरा नगर्ने भएकाले धेरै देशहरूमा काम गर्न वा लाइसेन्स लिन कठिनाइ हुन्छ ।
अमेरिका, क्यानडा, अस्ट्रेलिया र जर्मनी जस्ता देशका धेरै विश्वविद्यालयहरूले ३ वर्षे ब्याचलर डिग्रीलाई ४ वर्षे डिग्री बराबर मान्दैनन् । अमेरिकामा अधिकांश विश्वविद्यालयहरूले १६ वर्षको शिक्षा अनिवार्य मान्ने भएकाले ३ वर्षे डिग्री भएका विद्यार्थीहरूलाई सिधै अस्वीकार गर्ने, ब्रिज कोर्स गर्न लगाउने वा थप एक वर्षको अध्ययन गर्नुपर्ने अवस्था आउँछ ।
क्यानडामा मास्टर्स अध्ययन र पेसागत मान्यताका लागि ४ वर्षे स्नातकलाई प्राथमिकता दिइन्छ । अस्ट्रेलियामा ३ वर्षे डिग्री स्वीकार गरिए पनि Honours Year वा Postgraduate Diploma नगरेसम्म पूर्ण मान्यता नपाइने अवस्था छ । जर्मनीमा ECTS क्रेडिट र अनुसन्धान आधारित पाठ्यक्रम नपुगेको भन्दै धेरै ३ वर्षे डिग्री अस्वीकार गरिन्छ।
यद्यपि बेलायत, युरोपियन युनियनका धेरै देश, भारत, नेपाल, आयरल्यान्ड र दक्षिण अफ्रिका जस्ता देशहरूमा ३ वर्षे ब्याचलर प्रणाली प्रचलित छ ।
इस्लिङ्टनले बेलायतको लन्डन मेट्रोपोलिटन विश्वविद्यालयबाट सम्बन्धन लिएको हुँदा बिबिएको यो कोर्स समेत ३ वर्षे हो । तर यस्ता डिग्रीहरू प्रायः त्यही देश वा क्षेत्रभित्र मात्र सहज रूपमा स्वीकार गरिन्छ र विश्वका सबै देशमा समान रूपमा मान्य हुँदैनन् । त्यसैले यस्ता डिग्री लिएर अन्य देशमा अध्ययन वा काम गर्न जाँदा समस्या देखिन सक्छ ।
३ वर्षे ब्याचलर डिग्रीको परिणामस्वरूप विद्यार्थीहरूले मास्टर्स अध्ययनमा अस्वीकार हुनुपर्ने, सर्तसहित भर्ना लिनुपर्ने, अतिरिक्त कोर्स वा डिप्लोमा गर्नुपर्ने, आप्रवासन प्रक्रियामा कम अंक प्राप्त हुने तथा बहुराष्ट्रिय कम्पनीका रोजगारीका अवसर गुमाउने जोखिम सामना गर्न सक्छन् । धेरै अवस्थामा विद्यार्थीहरूले पछि थप समय र पैसा खर्च गरेर आफ्नो डिग्री बराबरी गराउनुपर्ने बाध्यता हुन्छ ।
यही कारणले गर्दा धेरै शैक्षिक सल्लाहकारहरूले विद्यार्थीहरूलाई ३ वर्षे स्नातक डिग्री रोज्न सिफारिस गर्दैनन् । १७/१८ वर्षको उमेरमा भविष्यका योजना स्पष्ट नहुँदा विद्यार्थीहरूले ३ वर्षे डिग्री छान्छन्, तर पछि विदेश अध्ययन, रोजगारी वा आप्रवासनको चाहना हुँदा यही डिग्री ठूलो बाधा बन्न सक्छ ।
विश्व शिक्षा प्रणाली क्रमशः ४ वर्षे, अनुसन्धानमुखी र पेसागत तयारीमा केन्द्रित हुँदै गइरहेको सन्दर्भमा ३ वर्षे डिग्रीलाई दीर्घकालीन रूपमा जोखिमपूर्ण मानिन्छ ।
यही कुरा बुझेर मुलुककै सबैभन्दा ठूलो त्रिभुवन विश्वविद्यालयले समेत २०७२ सालबाट ३ वर्षे ब्याचलर डिग्री हटाएर ४ वर्षे सुरु गरेको थियो । विश्वविद्यालयले विज्ञान, व्यवस्थापन र शिक्षा संकायको ब्याचलर कार्यक्रमलाई २०७२ सालदेखि ४ वर्षे बनाएको हो । यस्तै, मानविकी तथा सामाजिक शास्त्र संकायतर्फको ब्याचलर कार्यक्रमलाई भने २०७६ देखि चार वर्षको बनाइएको हो ।
तर इस्लिङ्टन लगायतका केही विदेशी सम्बन्धन प्राप्त कलेजहरूले ३ वर्षे कार्यक्रमहरू नै पढाउँदा विद्यार्थीहरू मारमा परेका हुन् ।
शिक्षाविद् विद्यानाथ कोइराला भर्खर १२ सकेर ब्याचलर पढ्न पुग्ने किशोर किशोरीहरूलाई डिग्रीको गुणस्तर, क्रेडिट आवर जस्ता विषयमा पर्याप्त ज्ञान नहुने भएकाले विदेशी सम्बन्धन प्राप्त कलेजहरूले उनीहरूको भविष्यमा खेलबाड गरिरहेको बताउँछन् ।
“हाम्रा कलिला केटाकेटीलाई क्रेडिट आवरका बारेमा धेरै थाहा हुँदैन । कलेजहरूले उनीहरूलाई क्रेडिट ट्रान्सफर देखाएर सजिलै विदेश जान पाइने कुरा दिमागमा भरिदिन्छन् । जसले गर्दा क्रेडिट आवर र डिग्रीको समकक्षता छायामा पर्छ,” कोइरालाले भने, “ब्याचलर सकेर विदेश अप्लाइ गर्दा मात्र विद्यार्थीहरूले यसबारे थाहा पाउन पुग्छन्, तर त्यतिन्जेलसम्म ढिला भइसकेको हुन्छ ।”
विदेशी विश्वविद्यालय तथा शैक्षिक संस्थाको सम्बन्धनमा सञ्चालित शिक्षण संस्थाहरूको अध्ययन गर्न यसअघि सरकारले बनाएको विज्ञ समितिका संयोजक प्रा. डा. विनिल अर्याल विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालित कलेजहरूमा पारदर्शिताको ठूलो समस्या रहेको र त्यसको असर विद्यार्थीहरूमा परिरहेको बताउँछन् ।
त्यस्ता कलेजहरूले पर्याप्त सूचना सम्प्रेषण नगर्ने, वेबसाइटमा आकर्षक कुराहरू मात्र समेट्ने र अबोध विद्यार्थीलाई अलमलाउन सहज हुने कुरा मात्र गर्दिँदा विद्यार्थीहरू पीडित हुने गरेको डा. अर्यालको भनाइ छ ।
“यी कलेजहरूले पारदर्शी कुरै गर्दैनन्, विद्यार्थीलाई जुन कुराले ब्रेन वास गर्न सहज हुन्छ, त्यति मात्र भनिदिन्छन्,” अर्यालले भने, “पारदर्शी रूपमा कोर्सहरूको सीमितता समेत उल्लेख गरिदिए मात्र पनि धेरै विद्यार्थीहरू पीडित हुनबाट जोगिन्थे ।”
यसबारे प्रतिक्रिया लिन कलेज व्यवस्थापनसँग पटक-पटक सम्पर्क गर्दा पनि प्रतिक्रिया दिन चाहेनन् ।