काठमाडौँ । नेपाली कांग्रेसले गर्ने भनिएको पत्रकार सम्मेलन अन्तिम समयमा स्थगित गरिएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रबार दिउँसो १ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा गर्ने भनिएको पत्रकारहरूसँग संवाद कार्यक्रम स्थगन गरिएको जानकारी दिएका हुन् ।
विज्ञप्तिमा पत्रकार सम्मेलन अर्को सूचना नआएसम्मका लागि रोकिएको उल्लेख गरिएको छ ।
पार्टीभित्र पछिल्लो समय बढ्दै गएको आन्तरिक विवादकै बीच पत्रकार सम्मेलन स्थगित गरिएको हो । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गर्ने तयारी गरेका छन्। उनीहरू उक्त कार्यक्रमबाट पछि नहटेपछि कांग्रेसभित्र तनाव थप चर्किएको देखिन्छ ।
संस्थापन पक्षले भने अहिलेको परिस्थितिमा विशेष महाधिवेशन पार्टीको हितमा नरहेको दाबी गर्दै आएको छ । केन्द्रीय कार्यालयले उक्त महाधिवेशन विधानविपरीत भएको ठहर गर्दै कार्यसम्पादन समितिको निर्णयमार्फत महाधिवेशन प्रतिनिधिहरूलाई सहभागी नहुन निर्देशनसमेत दिएको छ ।
यही आन्तरिक विवाद र विशेष महाधिवेशनलाई लिएर उत्पन्न परिस्थितिका कारण पत्रकार सम्मेलन स्थगित गरिएको बुझिएको छ।
