काठमाडौँ । ग्ल्यामरस राजनीतिको दुई चर्चित अनुहार, रवि लामिछाने र कुलमान घिसिङबीच हुन लागेको ‘राजनीतिक मिलन’ अन्ततः ‘ब्रेकअप’मा टुङ्गिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता प्रक्रिया भाँडिएपछि पूर्व ऊर्जामन्त्री कुलमान घिसिङले आफैँलाई (उज्यालो नेपाल पार्टी)को अध्यक्ष घोषणा गरेका छन्।
यसअघि पार्टीको संरक्षकका रूपमा पर्दा पछाडि रहेका घिसिङ अब औपचारिक रूपमै राजनीतिको ‘फ्रन्टलाइन’मा आएका हुन्। निवर्तमान अध्यक्ष अनुपकुमार उपाध्यायलाई विस्थापित गर्दै घिसिङले पार्टीको बागडोर सम्हालेका हुन्।
स्रोतका अनुसार, रवि र कुलमानबीच लामो समयदेखि चलेको संवादको मुख्य अवरोध ‘पार्टीको नाम’ र ‘चुनाव चिन्ह’ बनेको छ। उज्यालो नेपालका नेताहरू रास्वपाको नाम परिवर्तन गरेर राष्ट्रिय उज्यालो पार्टी वा उज्यालो स्वतन्त्र पार्टी राख्नुपर्ने अडानमा थिए। तर, रास्वपा सभापति रवि लामिछाने आफ्नो पार्टीको ब्रान्ड र चुनाव चिह्न घण्टी परिवर्तन गर्ने पक्षमा देखिएनन्।
रास्वपासँगको सहमतिमा कुलमानलाई पहिलो वरीयताको उपसभापति बनाउने गरी अध्यक्ष अनुपकुमार उपाध्यायले एकता पत्रमा हस्ताक्षर गरेका थिए। तर, रविसँगको निरन्तर छलफलमा ठोस सहमति जुट्न नसकेपछि उज्यालो नेपालले आफ्नै बाटो रोज्ने निर्णय गरेको हो। ९४ सदस्यीय केन्द्रीय समिति रहेको उज्यालो नेपालमा दुई धार स्पष्ट थिए, एक पक्ष एकताकै पक्षमा थियो भने अर्को पक्ष उज्यालो नेपाल आफैँमा ब्रान्ड भइसकेकाले एक्लै अघि बढ्नुपर्ने पक्षमा थियो। अन्ततः घिसिङले दोस्रो धारलाई रोज्दै नेतृत्व सम्हालेका हुन्।
कुलमानलाई अध्यक्ष बनाउने निर्णयलाई अनुमोदन गर्न उज्यालो नेपालको केन्द्रीय समिति बैठक डाकिएको छ। बैठकलगत्तै पत्रकार सम्मेलन गरी नयाँ नेतृत्व र भावी कार्यदिशाबारे औपचारिक जानकारी दिइने उज्यालो नेपाल पार्टीका एक नेताले जानकारी दिए ।