काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै देशको अस्तित्व नै संकटमा पर्न लागेको तर्फ सचेत गराएका छन् । ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा एक भिडियो सन्देश जारी गर्दै शाहले वर्तमान राजनीतिक व्यवस्था र नेतृत्वको असफलताका कारण जनमानसमा चरम निराशा छाएको बताएका हुन् ।
नारायणहिटी राजदरबारबाट बाहिरिएको करिब दुई दशक पुग्न लाग्दा पनि देशले सही गति लिन नसकेको भन्दै उनले भने, ‘हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नरहने हो कि भन्ने निराशा पैदा भएको छ ।’
आफूले झन्डै दुई दशक अघि शान्ति, आर्थिक प्रगति र स्थायित्वको नाममा ‘जनताको नासो जनताकै सुरक्षित संरक्षणमा बुझाइ’ सहयोगी नियतका साथ राजकाजबाट बाहिरिएको स्मरण गर्दै उनले त्यसलाई कमजोरीको रूपमा नलिन आग्रह गरे । शाहले सन्देशमा भने, ‘सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिको रूपमा काम गरेको राजसंस्था जनताले सुम्पिएको जिम्मेवारीबाट विमुख हुनै सक्दैन ।’
मुलुकबाट दक्ष जनशक्ति मात्र नभई अब पुँजी र उद्यमीहरू समेत पलायन हुन थालेकोमा पूर्वराजाले कडा आपत्ति जनाए । ‘मुलुक असफलताको सङ्घारमा पुग्न सक्ने सम्भावनालाई लिएर हामी आहात भएका छौँ’, उनले भने । नेतृत्वले युवा पुस्ताको भावना र आवश्यकतालाई सम्बोधन नगरेका कारण देशले जनधनको ठूलो क्षति बेहोर्नु परेको र युवाहरूमा असन्तोष चुलिएको उनको विश्लेषण छ ।
नेपालको परराष्ट्र नीति असन्तुलित बन्दै गएको र यसले गर्दा मित्र राष्ट्रहरूको विश्वास गुम्ने खतरा बढेको उनले औँल्याए । ‘अवाञ्छित भ्रमको चपेटामा देश पर्यो भन्दै उनले राष्ट्रिय सहमति बिना निकास खोज्नु समय खेर फाल्नु मात्र हुने बताए । साथै, भ्रष्टाचारलाई सबै तहमा दण्डनीय अपराध मान्नुपर्ने र ‘पृथ्वी पथ’को अनुसरण नै देशको हितका लागि अनिवार्य रहेको उनको दाबी छ ।
बडामहाराजाधिराज पृथ्वीनारायण शाहका दिव्य उपदेशहरूको महत्त्व आजको समयमा अझ बढेको उल्लेख गर्दै शाहले भने, ‘जनता सक्षम र बलिया भए मात्र देश बलियो हुन्छ भन्ने दिव्य उपदेशको मर्मलाई आत्मसात् गर्नुपर्छ ।’ उनले सबै नेपालीलाई ‘पृथ्वी पथ’ मा लाग्न र देशलाई फेरि उठाउन आह्वान समेत गरे ।