काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी प्रतिनिधिसभा चुनाव रुकुम पूर्वबाट लड्ने घोषणा गरेका छन् ।
रुकुम पश्चिममा शनिबार आयोजित पार्टीको कार्यक्रममा प्रचण्डले रुकुम पूर्वबाट आगामी प्रतिनिधिसभा चुनाव लड्ने घोषणा गरे । ‘हुनसक्छ म अहिलेको चुनाव रुकुमैबाट लड्छु । यै रुकुम भन्ने नठान्नुहोला । पूर्वी रुकुम आउने निश्चित भएको छ । पूर्वी रुकुममा आउने निश्चित भएको छ,’ उनले भने ।
कार्यक्रममा दाहाल र पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपाल सहभागी छन् । प्रतिनिधिसभा चुनाव आगामी फागुन २१ का लागि तोकिएको छ । रुकुम पश्चिमबाट गोपाल शर्मा उम्मेदवार बन्ने पनि दाहालले घोषणा गरेका छन् ।
रूकुम पश्चिम जनार्दन शर्माको गृहजिल्ला हो । जनार्दनले नेकपा एकताबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका छन् । प्रचण्ड रूकुम पूर्वसहित १० ठाउँबाट उम्मेदवार सिफारिस भएका छन् ।
उनी कालिकोट, कास्की–३, नुवाकोट–१, सिन्धुली–२, रामेछाप, महोत्तरी–४, गोरखा–१, रोल्पा, कैलाली–३ बाट उम्मेदवार सिफारिस भएका छन् । कतै एकल र कतै उनीसहितको नाम केन्द्रमा सिफारिस भएर आएको छ ।
संयोजक प्रचण्डले चुनावैपिच्छे निर्वाचन क्षेत्र फेरेर उम्मेदवार बन्ने छवि बनाएका छन् ।
२०६४ को पहिलो संविधान सभा निर्वाचनमा काठमाडौं–१० र रोल्पाबाट उम्मेदवार बनेका थिए । दुवै ठाउँबाट चुनाव जितेका थिए ।
२०७० को दोस्रो संविधान सभा निर्वाचनमा काठमाडौं–१० र सिराहाबाट उम्मेदवार बनेका थिए । त्यतिबेला उनी सिराहाबाट मात्रै निर्वाचित भएका थिए ।
२०७४ को निर्वाचनमा उनी चितवन–३ बाट उम्मेदवार भई निर्वाचित भएका थिए भने २०७९ सालको निर्वाचनमा गोरखा–२ बाट उम्मेदवार बनी विजयी भएका थिए ।