• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

के इरानी जनता आयतोल्लाहको शासन ढालेर राजतन्त्र फर्काउन चाहान्छन् ?

इरानमा सन् १९७९ को क्रान्तिले उनका पिता शाह मोहम्मद रेजा पहलवीको ४० वर्षे शासन ढाल्दा रेजा पहलवी मात्र १६ वर्षका थिए । तेलमा समृद्ध, हजार वर्ष पुरानो इरानी साम्राज्यका उत्तराधिकारीको पहिलो नम्बरमा रहेका शाहका जेठा छोरा रेजाले त्यस दिनसँगै आफ्नो जन्मसिद्ध अधिकार गुमाउन पुगे ।

आज ६५ वर्षको उमेरमा, झण्डै आधा शताब्दीपछि उनको लामो प्रतिक्षा समाप्त हुन लागेको संकेत देखिन थालेका छन् ।

“यो अन्तिम लडाइँ हो । पहलवी फर्किनेछन्!” निर्वासनमा रहेका पूर्व युवराज रेजा पहलवीले सडकमा आउन इरानी जनतालाई आह्वान गरेपछि शुक्रबार इरानभर फैलिएको प्रदर्शनमा घन्किएको नाराहरुमध्ये प्रमुख यही नारा थियो ।

प्रदर्शनकारीहरूले “जाविद शाह (राजा अमर रहून्)!” र “रेजा शाह, तपाईँको आत्मालाई ईश्वरले शान्ति प्रदान गरुन्!” भन्दै नारा लगाए ।

यी प्रदर्शनहरू तेहरानको ऐतिहासिक ग्रान्ड बजारबाट सुरु भएको थिए । अर्थतन्त्रप्रतिको असन्तुष्टिलाई लिएर सुरु यस विरोधले शासनविराधी स्वरूप धारण गरेको छ । अमेरिकामा बसोबास गर्दै आएका रेजा पहलवीले आफूलाई यही आन्दोलनको नेताका रूपमा उभ्याउने प्रयास गरिरहेका छन् ।

इरानमा अपदस्थ राजतन्त्रप्रति समर्थन जनाउनु अपराध मानिन्छ । शाहको तानाशाही शासनविरुद्ध जनआन्दोलन गरेर इस्लामिक गणतन्त्र स्थापना गरेको समाजमा राजतन्त्रप्रतिको सहानुभूति लामो समयदेखि निषेधित रहँदै आएको छ ।

तर, अहिले राजपरिवार र निर्वासनमा रहेका यसको प्रतीकात्मक नेतृत्वप्रति देखिएको नयाँ उत्साह के कारणले हो भन्ने स्पष्ट छैन । धेरैको प्रश्न छ- के इरानीहरू साँच्चिकै राजतन्त्र पुनर्स्थापनाको पक्षमा छन् ? वा, उनीहरू दमनकारी धार्मिक शासनबाट मात्र दिक्क भएका हुन् ?

“रेजा पहलवीले निस्सन्देह आफ्नो प्रभाव बढाएका छन् र इरानी विपक्षी राजनीतिको अग्रपंक्तिमा उभिएका छन्,” ‘ह्वाट इरानियन्स वान्ट’ पुस्तकका लेखक तथा शिक्षाविद् अराश अजिजी बताउँछन् । “तर उनीमा धेरै समस्याहरू पनि छन् । उनी एकताबद्ध गर्नेभन्दा बढी विभाजनकारी व्यक्ति हुन् ।”

दशकौँदेखि इस्लामिक गणतन्त्रले आन्तरिक प्रतिपक्षीलाई कमजोर बनाउँदै आएको छ । पूर्व राष्ट्रपतिसहित आलोचकहरूलाई जेल हालिएको छ । सर्वोच्च नेता आयतोल्लाह अली खामेनी नै इरानको शक्ति केन्द्र हुन् । उनले निर्वाचित प्रतिनिधिहरूको अधिकार सीमित गर्दै शासन सत्ताको अभिभावकको रुपमा आफूलार्ए दर्शाउने गरेका छन् ।

यही परिस्थितिले विदेशमा बसेको विपक्षी शक्तिलाई बलियो बनाएको छ । ठूलो रहेको इरानी डायस्पोराबाट बढेको यो आन्दोलनले नै रेजा पहलवीजस्ता पात्रलाई फेरि प्रकाशमा ल्याएको हो । सन् २०२० मा इरानले युक्रेन गइरहेको यात्रुवाहक विमान भुलवश खसाल्दा उनी पहिलोपटक अन्तर्राष्ट्रिय जगतको दृष्टिमा परेका थिए । त्यस घटनाले देशबाहिर रहेको विपक्षी स्वरहरुलाई एकजुट गर्‍यो र एक परिषद् गठन भयो, जसमा पहलवी प्रभावशाली सदस्य थिए ।

तर विभिन्न असमझदारीहरुको कारण परिषद् छोटो अवधिमै विघटन भयो । तथापि, पहलवी विपक्षीहरुमध्ये सबैभन्दा परिचित अनुहार बनेर रहिरहे । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु उनका सबैभन्दा चर्चित समर्थक हुन् । यद्यपि, यो गठबन्धनले इरानी समाजलाई थप ध्रुवीकृत गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अपहरण गरेको घटनाले पनि इरानमा छिटो सत्ता परिवर्तनको आशा राख्ने केही विपक्षीहरूलाई उत्साहित बनाएको देखिन्छ । सामाजिक सञ्जालमा एक प्रदर्शनकारीले सडकको नाम नै “ट्रम्प स्ट्रिट” राखेको भिडियो भाइरल भयो ।

तर विश्लेशकहरू भने त्यस्ता अपेक्षा यथार्थपरक नभएको बताउँछन् । “ट्रम्प विभिन्न विकल्पहरू जाँच गरिरहेका छन् र जित सुनिश्चितताको प्रमाण नदिएसम्म कसैलाई पनि वैधता प्रदान गर्न चाहँदैनन्,” अजिजी भन्छन् ।

उनका अनुसार “रेजा पहलवीसँग ट्रम्पलाई आकर्षित गर्ने किसिमको व्यक्तित्व छैन । उनी अलि किताबी किरा छन् । त्यसैले ट्रम्पलाई मनाउन उनलाई कठिन हुनेछ ।”

रेजा पहलवी आफैँ पनि अग्रपंक्तिमा आउने विषयमा स्पष्ट देखिदैन्न । उनले प्रदर्शनकारीहरूले शासन ढाल्न सफल भए संक्रमण कालको नेतृत्व सम्हाल्न आफू तयार रहेको बताउने गरेका छन् । तर उनी त्यसबारेको योजना र संरचनाबारे स्पष्ट छैनन् । आलोचकहरू भन्छन्- उनमा अनुभवको पनि कमी छ, त्यही नै उनको कमजोरी बन्न सक्छ ।

“उनी संक्रमणकालीन नेता र सभाको कुरा गर्छन्, तर सरकारमा को को हुनेछ, सभामा को उम्मेदवार बन्नेछ?” जोन्स हप्किन्स विश्वविद्यालयका इरान विज्ञ भाली नसर प्रश्न गर्छन्, “भीडलाई हेरेर शाहको समय फर्किए राम्रो हुन्थ्यो भन्नु एउटा कुरा हो, तर व्यवहारिक रूपमा त्यो कसरी सम्भव हुन्छ?”

विश्लेषकहरूका अनुसार पहलवीप्रति देखिएको यो समर्थनले इस्लामिक गणतन्त्र एउटा बन्द सुरुङमा पुगेको स्पष्ट संकेत देखाएको छ । वर्षौँको भ्रष्टाचार र प्रतिबन्धले अर्थतन्त्र जर्जर बनेको छ । सुधारवादी सरकारहरूको प्रयासका बाबजुद इरान अन्तर्राष्ट्रिय रूपमा एक्लिएको छ । युवापुस्ता रूढिवादी शासन र राजनीतिक स्वतन्त्रतामाथिको अंकुशबाट आजित छन् । र, यदि शासकले फेरि हिंसात्मक दमनको बाटो अपनाए भने त्यसले ट्रम्पलाई आक्रोशित बनाउने जोखिम पनि छ ।

“इरानीहरू पहलवीप्रति ढल्किरहेका छन्, जसको कारण उनी समाजमा सक्रिय भएर भने होइन, बरु इरानीहरू निराश भएर चाहिँ हो,” नसर भन्छन् ।

रेजा पहलवी यही निराशा र इस्लामिक गणतन्त्रअघिको युगको सम्झनालाई आफ्नो हतियार बनाइरहेका छन् ।

“धेरै बढापाका इरानीहरू म जन्मिएको दिन कस्तो उत्साह थियो भनेर सम्झन्छन्,” पहलवीले यस साता द वाल स्ट्रिट जर्नललाई भने, “तर आज ६५ वर्षको उमेरमा युवा इरानीहरू मलाई बुवा भनेर बोलाउँछन् । त्यो नै मेरो लागि सबैभन्दा ठूलो कुरा हो ।”

(सिएनएनबाट)