• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

‘मलाई पदको लोभ छैन, कांग्रेस एकताका लागि बाधक बन्दिनँ’ : डा. शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू पार्टीको समग्र एकता र रूपान्तरणको पक्षमा रहेको स्पष्ट पारेका छन्। कांग्रेसको विशेष महाधिवेशनको संघारमा एक भिडिओ सन्देश जारी गर्दै कोइरालाले आफ्नो कुनै व्यक्तिगत राजनीतिक महत्त्वाकांक्षा नरहेको र पार्टीलाई एकढिक्का बनाउन आफू निरन्तर लागिरहने प्रतिबद्धता जनाएका हुन्।

भिडिओ सन्देशमा नेता कोइरालाले देश अहिले आसन्न निर्वाचनको संघारमा रहेको र संविधानसभाबाट जारी भएको संविधान ‘छतविक्षत’ भएको अवस्थामा रहेको भन्दै चिन्ता व्यक्त गरे। उनले भने, ‘जनआन्दोलनबाट निर्वाचित सरकारको ठाउँमा अननिर्वाचित खिलराज रेग्मीको सरकार गठन भएको छ। यतिबेला मुलुकको मूल कानुन (संविधान) बचाउनु नै सबै राजनीतिक दलहरूको मुख्य चुनौती हो।’

आफूलाई पदको लालसा नरहेको स्पष्ट पार्दै उनले भनेका छन्, ‘म प्रस्ट भन्न चाहन्छु, मेरो निजी महत्त्वाकांक्षा केही छैन। मलाई मन्त्री, महामन्त्री हुने लोभले विगतमा कहिल्यै आकर्षित गरेन र सभापति वा प्रधानमन्त्री हुने कुराले पनि मलाई लोभ्याउँदैन। परिवारबाट पाएको शिक्षा र जीवन दर्शन नै मेरो मार्गनिर्देशक हो।’

पार्टीभित्रको आन्तरिक द्वन्द्व र चुनौतीबारे चर्चा गर्दै कोइरालाले आफू दोहोरो दबाबमा रहेको स्वीकार गरे। ‘मैले एकातिर सभापति शेरबहादुर देउवाको कार्यशैली सँग लड्नु परेको छ भने अर्कोतिर ऊर्जावान् र जोसिला युवाहरूको असन्तोषको सामना गर्नु परिरहेको छ,’ उनले भने, ‘मेरो लड्ने तरिका शान्त र मधुरो छ। कतिपय साथीहरू मेरो शैलीसँग असहमत हुनुहोला, तर म आक्रोश र अधैर्य भएर अगाडि बढ्न चाहन्नँ।’

बीपी कोइरालाको मेलमिलापको नीति स्मरण गर्दै उनले कांग्रेसभित्र सहमति, सहकार्य र सहअस्तित्वको खाँचो रहेको औँल्याए। कोइरालाले भदौ २४ देखि २७ गतेसम्म घटेको राजनीतिक अन्यौल र अराजकताको त्रासदीपूर्ण अवस्थालाई बिर्सन नहुने भन्दै राजनीतिक निकासका लागि सेना उतार्नुपर्ने अवस्था आउनु दुःखद भएको बताए।

महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै उनले भने, ‘तपाईँहरू पार्टीको धरोहर हुनुहुन्छ। विधिको प्रभावकारिता र नीतिको सान्दर्भिकता स्थापित गर्ने पवित्र उद्देश्यका साथ काठमाडौँ आउनुभएको छ। समग्र कांग्रेसको हित र एकताबद्ध पार्टी निर्माण गर्ने ऐतिहासिक दायित्व तपाईँहरूको काँधमा छ।’

नेता कोइरालाले पार्टीमा जबसम्म सही निकास निस्किँदैन, तबसम्म आफू निरन्तर भगीरथ प्रयासमा लागिरहने प्रण समेत गरेका छन्। उनले सबै कांग्रेसजनलाई एकताबद्ध भएर अगाडि बढ्न र ‘जय नेपाल’को नारालाई सार्थक बनाउन आह्वान गरेका छन्।

यस्तो छ उनको सम्बोधन–

“आदरणीय साथीहरू, आज देश आसन्न निर्वाचनको संघारमा छ। केही महिना मात्र भएको छ जनआन्दोलनबाट निर्वाचित सरकारको ठाउँमा अनिर्वाचित शुशिला कार्कीको सरकार गठन भएको छ। यस क्रममा संविधानसभाबाट जारी भएको नेपालको संविधान यतिखेर छतविक्षत भएको अवस्थामा छ।

आठ दशक अगाडि नेपाली कांग्रेसका संस्थापक नेताहरूले देशको संविधान नेपाली जनताले लेख्छन् भनी नेपालको लोकतान्त्रिक आन्दोलन सुरु गर्नुभएको थियो। यो गौरवशाली इतिहासको शृङ्खलाले अनेक कष्ट, यातना र बलिदान भोग्दै निरंकुश तन्त्रहरूसँग लड्दै लोकतन्त्र र नागरिक सार्वभौम सत्ताको शास्वत सत्यलाई स्थापित गर्न सफल भयो। यतिखेर हामी लगायत सबै राजनीतिक दलहरू त्यही सार्वभौम संविधान, जुन नेपालको मूल कानुन हो, भावी निर्वाचन मार्फत बचाउने प्रयत्न गरिरहेका छौँ।

हामी भदौ २४ गतेदेखि २७ गतेसम्म घटेको अन्यौल, अराजकता र संविधानहीनताको त्रासदीपूर्ण अवस्थालाई यति चाँडो कसरी बिर्सन सक्छौँ र? नेपाली सेनाको सक्रियतामा राजनीतिक निकास खोज्नुपर्ने र देशको आन्तरिक सुरक्षामा सेना उतार्नुपर्ने असहज अवस्था आइपर्‍यो। हाम्रो यस किसिमको अवस्था पुनरावृत्ति नचाहँदा मात्र हामीले हाम्रा सहिदहरू प्रति न्याय गरेको ठहर्छ। के हामी भावी पुस्तालाई फेरि लोकतन्त्रको लागि बलिदान, संघर्ष, यातनाको मध्ययुगीन चरणमा पुगेको नेपाल छाडेर जान अभिशप्त छौँ?

हाम्रा आदरणीय नेताहरू, बुद्धिजीवी वर्ग, कानुनवेत्ता, पत्रकार साथीहरू लगायत सबैलाई देशको मूल कानुनको महत्त्व र कांग्रेसका साथीहरूलाई समेत संविधानहीनताको अवस्था बारे मैले भनिरहनु नपर्ला। म भन्दा यहाँहरू धेरै मर्मज्ञ हुनुहुन्छ। जनआन्दोलनबाट उत्पन्न राजनीतिक परिस्थितिमा देशका मुलधारका पार्टीहरूको नेतृत्व बारे नागरिक तहबाट र पार्टी भित्रबाट पनि बहस, छलफल र दबाबहरू सुरु हुनु स्वाभाविक थियो, भयो।

राजनीतिक दलहरूको विफलताले राजनीतिक नेतृत्वमा प्रश्न उठ्यो र यस प्रकरणमा नेपाली कांग्रेस भित्र संगठित प्रयत्नहरू अगाडि आए। नेपाली कांग्रेसको विधानको विकास क्रममा पार्टीको आन्तरिक जीवनलाई लोकतान्त्रिक बनाउने अनेकन् प्रावधानहरू राखिएका छन्। नेपालको संविधान झैँ यहाँ पनि शक्ति पृथकीकरणको मौलिक सिद्धान्तलाई प्रयोगमा ल्याउने कोसिस गरियो। यसको श्रेय निसन्देह पुरानो पुस्ताहरूलाई दिनुपर्छ। यही कारण आज नेपाली कांग्रेसको पदाधिकारी देखि केन्द्रीय कार्य समितिमा पनि युवाहरूको सहभागिता रह्यो।

कांग्रेसको वैधानिक विकास क्रममा हाम्रा श्रद्धेय नेता बीपी कोइरालाको मेलमिलापवादी भावनाबाट उत्प्रेरित थियो। त्यहाँ सहमति, सहकार्य र सहअस्तित्वको सिद्धान्तलाई मूल मर्म ठानिएको थियो र छ। कसै प्रति विद्वेष र निषेध थिएन। मैले यिनै मर्मलाई आत्मसात गरेर कांग्रेस भित्र पुस्तान्तरण र हस्तान्तरणको अभियान नै चलाएँ। धेरै युवा साथीहरू म सँग जोडिए। म सधैँ कांग्रेस विधि, विधान र नियम सम्मत प्रक्रियाबाट चलोस् भन्नेमा संघर्षरत रहेँ। मेरो लड्ने तरिका शान्त र मधुरो थियो। मेरो कैयौँ शैलीहरूसँग साथीहरू असहमत भएको म बुझ्दथेँ। तर पनि म कांग्रेसको रूपान्तरण अभियानमा आक्रोश र अधैर्य भएर अगाडि बढ्न चाहेन।

म यहाँ स्पष्ट भन्न चाहन्छु, मेरो निजी महत्त्वाकांक्षा केही छैन। मलाई मन्त्री, महामन्त्री हुने लोभले विगतमा कहिल्यै आकर्षित गरेन। यस्ता अवसरहरू आए तर मैले रुचि देखाइन। त्यस्तै सभापति, प्रधानमन्त्री हुने कुराले मलाई लोभ्याउँदैन। मैले मेरो परिवारबाट पाएको यही शिक्षा मेरो जीवन दर्शन हो र म यही जीवन दर्शनबाट अभिप्रेरित भएर कांग्रेसको समग्र एकताको पक्षमा शान्त आवाज उठाइरहेको छु र उठाइरहने छु। यस क्रममा मैले एकातिर सभापति शेरबहादुर देउवाको कार्यशैली सँग लड्नु परेको थियो भने अर्कोतिर ती युवाहरूको असन्तोषको सामना गर्न परिरहेको छ, जो ऊर्जावान र जोसिलो भएर मेरो अगाडि उपस्थित हुन्छन्।

मलाई थाहा छ, कांग्रेस विधानमा के छ र के हुनुपर्छ। मैले कांग्रेस विशेष महाधिवेशनको अभियान चलिरहँदा आफ्नो मत केन्द्रीय कार्य समितिमा लिखित रूपमै राखेको छु। मैले यो राखिरहँदा कांग्रेसमा कुनै कतै कुनै कुनाबाट पनि विभाजनको प्राविधिक र भावनात्मक सन्देश प्रवाह नहोस् भनी सतर्क थिएँ। मलाई यो पनि थाहा छ, कांग्रेस संक्रमणमा पर्दा कसरी र कसले त्याग र अपमान सहनुपर्छ भनेर। म ती सबै सहेर पनि अन्तिमसम्म पार्टी विधानबाट मात्र होइन, कांग्रेसजनको भावनात्मक एकतामा अगाडि बढिरहने छु।

बीपीको मेलमिलाप कुनै कानुनको पन्नाबाट निस्केको थिएन, न कांग्रेसको विधान र नेपालको संविधानमा थियो। यो बीपीको अन्तरात्माको आवाज थियो। यो नेपाली जनको आवाज थियो। म एक्लो भए पनि बीपी, सुवर्ण, गणेशमान, किसुनजी, गिरजा बाबु, सुशीलदा लगायत हाम्रा अग्रज नेताहरूले छाडेको पदचिह्नबाट विचलित हुने छैन। यो पदचिह्न भनेको कांग्रेसको मौलिक आदर्श सिद्धान्त हो जसमा टेकेर नेपालीहरू सार्वभौम भए, स्वतन्त्र भए।

के हामी सबै कांग्रेसजन मिलेर सहमति, सहकार्य र सहअस्तित्वलाई एकाकार गर्दै समग्र कांग्रेस एकताको विगुल फुक्ने महाधिवेशन गरेर जान सक्दैनौँ? के हामीसँग भरोसा र विश्वास गर्ने हाम्रा समर्थक, शुभचिन्तक साथीहरू र अन्तर्राष्ट्रिय समुदायले पनि हामी एकतावद्ध भएर अगाडि बढेको हेर्न नचाहेका होलान् र? सोचौँ हामी।

आदरणीय महाधिवेशन प्रतिनिधि साथीहरू, तपाईँहरू पार्टीको धरोहर हुनुहुन्छ। तपाईँहरू विधिको प्रभावकारिता र नीतिको सान्दर्भिकता स्थापित गर्ने पवित्र उद्देश्यका साथ काठमाडौँ आउनुभएको छ। पार्टीको विधानको कार्यान्वयन गर्ने संकल्प गर्दै हुनुहुन्छ। त्यस विषयमा समग्र कांग्रेसको हित र एकतावद्ध पार्टी कसरी निर्माण गर्न सकिन्छ भन्ने ऐतिहासिक दायित्व निर्वाह गर्न समेत त्यति नै सक्षम हुनुहुन्छ भन्ने मेरो गहिरो विश्वास छ।

यो कार्यका लागि मैले केही दिनदेखि भगिरथ प्रयास गरिरहेको छु। जबसम्म निकास निस्किदैन तबसम्म म निरन्तर लागिरहने छु भन्ने प्रण पनि गर्दछु। मेरो दृढ विश्वास छ, एकतावद्ध भएर अगाडि बढ्न सकिन्छ र यो जय नेपालको नाराको गुन्जनबाट मात्र सम्भव छ भन्ने मलाई लाग्छ। जय नेपाल!”