• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

राजनीतिक दलहरुबीचमा नविन समझदारी आवश्यक छ : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले देशको राजनीतिक दलकाबीचमा नविन समझदारी आवश्यक रहेको बताएका छन् ।

आइतबार पार्टीको चियापान कार्यक्रमपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले अहिले राजनीतिक दलकाबीचमा नविन समझदारी आवश्यक रहेको भन्दै त्यो समझदारीको आधार पृथ्वीपथ नै रहेको बताए ।

उनले भने, ‘अहिले यो देशको राजनीतिक दलकाबीचमा एउटा नविन समझदारी आवश्यक परेको छ । त्यो समझदारीको आधार भनेको पृथ्वीपथ नै हो ।’ त्यस्तै, उनले अहिले राष्ट्रिय राजनीति जुन गम्भीर दिशातर्फ गइराखेको भन्दै राजनीति, अर्थतन्त्र या लोकतन्त्र सबै क्षेत्रमा पृथ्वीपथ नै सबै समस्याको समाधानको रुपमा देखिएको धारणा राखे ।

‘अहिले नेपालको जुन अवस्था छ । त्यो सबै परिस्थितिमा पृथ्वीपथ सबै समस्याको समाधानको रुपमा देखिएको छ । अहिले राष्ट्रिय राजनीति जुन गम्भीर दिशातर्फ गइराखेको छ । तरल बनिराखेको छ । यसको एक मात्र समाधान, चाहे अर्थतन्त्रकै दृष्टिकोणले होस्, पराराष्ट्र नीतिको सन्दर्भले होस् या लोकतन्त्रको दृष्टिकोणले होस् यो सबैमा पृथ्वीपथ नै सबै समस्याको समाधानको पाटो हो,’ उनले भने ।