• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

नातावाद अन्त्य र चुनावी गठबन्धनको त्याग, यस्तो छ महामन्त्री विश्वप्रकाशको प्रतिवेदन

काठमाडौँ । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले १५ बुँदे मार्गचित्रसहितको सांगठनिक एवं राजनीतिक प्रतिवेदन पेस गरेका छन्।

प्रतिवेदनमा उनले विगतका गल्तीहरूको गम्भीर आत्मसमीक्षा गर्दै पार्टीलाई नयाँ मनोविज्ञान र इच्छाशक्तिले अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

महामन्त्री शर्माले नागरिकले कांग्रेसलाई सबैभन्दा ठूलो दल बनाए पनि जनअपेक्षा सम्बोधन गर्न नसकेको स्वीकार गरेका छन्। उनले प्रश्न गरे,‘नागरिकले भरोसा गरेर कांग्रेसलाई सबैभन्दा ठूलो दल बनाए, तर हामीले तिनै नागरिकको चरम असन्तुष्टिलाई समयमै चिन्न र चिर्न किन सकेनौं?’ सुशासनका सवालमा कांग्रेस चुकेको स्वीकार गर्दै उनले अब वस्तुगत आत्मसमीक्षा गरेर अघि बढ्नुको विकल्प नरहेको उल्लेख गरेका छन्।

शर्माले पार्टीको तर्फबाट एक व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने साहसिक प्रस्ताव अघि सारेका छन्। विगत डेढ दशकदेखि एउटै नेतृत्व दोहोरिँदा नागरिकमा असन्तुष्टि बढेको र सार्थक परिणाम आउन नसकेको उनको विश्लेषण छ।

प्रतिवेदनमा भनिएको छ, ‘नेपाली कांग्रेसको तर्फबाट भविष्यमा कोही पनि दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्ने छैनन्। यसलाई संविधानमै लिपिबद्ध गर्न कांग्रेसले अग्रसरता लिनेछ।’

त्यसैगरी, विगतको महासमिति बैठकको मर्मअनुसार आगामी निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगरी ‘एक्लै प्रतिस्पर्धा’ गर्ने संकल्प पनि उनले दोहोर्‍याएका छन्। चुनावी गठबन्धनले मतदाताको स्वतन्त्र विवेक र पार्टी सदस्यको सम्मानमा असर पुर्‍याएको उनको निष्कर्ष छ।

पार्टीभित्रको नातावाद र उम्मेदवार चयन प्रक्रियामाथि हुने आलोचनालाई शर्माले प्रतिवेदनमा समेटेका छन्। विशेषगरी एकाघरका सदस्यहरू (श्रीमान-श्रीमती) एकैपटक एउटै तहको जनप्रतिनिधि बन्ने प्रवृत्तिले कांग्रेस अलोकप्रिय बनेको उनले स्वीकार गरेका छन्।

उम्मेदवार चयनको परम्परागत प्रणालीलाई विस्थापित गर्न उनले ‘प्राइमरी इलेक्सन’ (आन्तरिक निर्वाचन) को नयाँ पद्धति प्रस्ताव गरेका छन्। योग्यता, लोकप्रियता र न्यायको मिश्रणसहितको यो पद्धतिले पार्टीभित्र आन्तरिक सुशासन कायम गर्न मद्दत पुग्ने उनको विश्वास छ।

विगत तीन दशकमा सरकार अस्थिर हुँदा नीतिगत स्थिरता कायम गर्न नसक्नुलाई शर्माले ठूलो कमजोरीका रूपमा चित्रण गरेका छन्। यी सबै गल्तीहरू सच्याउन उनले १५ बुँदे संकल्प प्रस्तुत गर्दै कांग्रेसलाई नवीन उर्जाका साथ देशको नेतृत्व गर्न सक्ने भरपर्दो शक्तिका रूपमा पुनर्जीवित गर्ने लक्ष्य राखेका छन्।