• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

पार्टी एकता विथोल्ने गतिविधि नगर्न कांग्रेस कार्यवाहक सभापति खड्काको अपिल

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको आन्तरिक एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा काठमाडौंको भृकुटीमण्डपमा ‘विशेष महाधिवेशनको बन्द सत्र’ चलिरहेका बेला खड्काको यो विज्ञप्ति सार्वजनिक भएको हो ।

विज्ञप्तिमा खड्काले वर्तमान अन्योलपूर्ण अवस्थामा आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई मुख्य प्राथमिकता दिनुपर्ने उल्लेख गरेका छन् । उनले भनेका छन् ‘मुलुक गम्भीर अवस्थामा छ, यस्तो बेला पार्टी एकताबद्ध र संगठित हुनु अपरिहार्य छ । अहिले प्रतिनिधि सभा निर्वाचनमा सम्पूर्ण पार्टी पंक्ति एकताबद्ध भई अभियानको रूपमा लाग्न आवश्यक छ ।’

पार्टीभित्र नेतृत्व परिवर्तनको माग उठिरहेका बेला खड्काले १५औँ महाधिवेशनको समयसीमा समेत तोकेका छन् । निर्वाचन सम्पन्न भएलगत्तै आगामी २०८३ वैशाख १५ गते महाधिवेशन गरी नीतिगत परिमार्जन र नेतृत्व परिवर्तन गर्न सकिने उनको तर्क छ ।

‘निर्वाचन सम्पन्न गरेपछि २०८३ वैशाखमा हुने १५ औँ महाधिवेशनबाट कांग्रेसको नीतिमा आवश्यक परिमार्जन र नेतृत्व सहज रूपले परिवर्तन गर्न सकिने अवस्था सुनिश्चित छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ, अहिले पार्टीभित्र उत्पन्न असहज अवस्थालाई समाप्त पार्न जरूरी छ ।’

महामन्त्रीहरूले बोलाएको भेलातर्फ संकेत गर्दै खड्काले पार्टी एकतामा असर पर्ने कुनै पनि कार्य नगर्न चेतावनीयुक्त शैलीमा अनुरोध गरेका छन् । उनले केन्द्रीय कार्यसमितिदेखि वडा तहसम्मका पदाधिकारी, सदस्य, भ्रातृ एवं शुभेच्छुक संस्था र सहयोगी साथीहरूलाई देशको विषम परिस्थितिप्रति गम्भीर बन्न आग्रह गरेका छन् ।