गत जनवरी ३ मा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको अपहरण गराएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प डेनमार्क अन्तर्गतको स्वशासित क्षेत्र ग्रीनल्याण्डलाई अमेरिकामा गाभ्ने योजना अगाडि बढाउन हौसिएको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन् । यसले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को अन्त्य हुन सक्ने र युक्रेनमा रुसको युद्धको लक्ष्यलाई बल पुग्ने विज्ञहरूको भनाइ छ ।
मादुरोलाई अमेरिकी सुरक्षा बलले अपहरण गरेको भोलिपल्ट ट्रम्पले युरोपेली मुलुकहरूलाई थप चिन्तित बनाउँदै द एटलान्टिक पत्रिकासँग भनेका थिए, “हामीलाई ग्रीनल्याण्ड चाहिन्छ, अवश्य पनि । यो हाम्रो सुरक्षाका लागि आवश्यक छ ।”
ह्वाइट हाउसका उपप्रमुख स्टाफ स्टेफन मिलरले पनि, “यस प्रशासनको सुरुवातदेखि नै ग्रीनल्याण्ड अमेरिकाको हिस्सा हुनुपर्छ भन्ने अमेरिकी सरकारको औपचारिक धारणा रहँदै आएको छ,” भनेका छन् ।
एटलान्टिक काउन्सिलकी उत्तरी युरोप निर्देशक आना विस्लान्डरका अनुसार भेनेजुएलामा गरिएको हस्तक्षेपले ट्रम्प प्रशासनले पश्चिमी गोलार्द्धमा प्रभुत्व जमाउने दृढ इच्छाशक्ति देखाएको छ, जसको भौगोलिक हिस्सा ग्रीनल्याण्ड पनि हो । “भेनेजुएलामा सफल हस्तक्षेपपछि तत्काल ग्रीनल्याण्डविरुद्ध बल प्रयोगको धम्की आउनुले छोटो समयमै यस्तो कदम सम्भावित बनेको छ,” उनले भनिन् ।
डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सेनले जनवरी ४ मा डेनमार्कको सार्वजनिक प्रसारण सेवासँग भनेकी थिइन्, “अमेरिकी राष्ट्रपतिले ग्रीनल्याण्ड चाहन्छु भनेपछि यसलाई गम्भीर रूपमा लिनुपर्छ ।”
तर उनले यस्तो कदमले नेटो गठबन्धनको अन्त्य गर्ने चेतावनी दिइन् ।
“यदि संयुक्त राज्य अमेरिकाले अर्को नेटो सदस्य देशमाथि आक्रमण गर्छ भने, त्यसपछि सबै कुरा रोकिन्छ- नेटो पनि र दोस्रो विश्वयुद्धपछिको सुरक्षा संरचना पनि,” फ्रेडरिक्सेनले भनिन् ।
फ्रेडरिक्सेनको यस कुरामा विस्लान्डर पनि सहमत छिन् । विस्लान्डर भनिन्, “यदि अमेरिकाले सैन्य बल प्रयोग गरेर ग्रीनल्याण्डलाई गाभ्यो भने नेटोको सामूहिक सुरक्षासम्बन्धी धारा ५ को अर्थ नै हराउनेछ ।”
धारा ५ नेटोको पारस्परिक सुरक्षा प्रावधान हो, जसअनुसार एक सदस्य राष्ट्रमाथि आक्रमण भएमा त्यसलाई आफू विरुद्धको आक्रमण बुझी सबैले सहयोग गर्नुपर्छ ।
‘नेटोको छाया मात्र बाँकी रहनेछ’
शिकागो विश्वविद्यालयका इतिहासका प्राध्यापक जोन मियर्सहाइमरका अनुसार युक्रेन युद्ध र ग्रीनल्याण्डमाथिको सम्भावित आक्रमण एकसाथ भएमा नेटो लगभग अन्त्य हुन सक्छ ।
“यी दुई घटना मिलेर नेटोलाई गम्भीर रूपमा कमजोर बनाउनेछन् । नेटो आफ्नै छाया मात्र रहनेछ,” उनले भने ।
तर युक्रेनको सुरक्षा ग्यारेन्टीबारे छलफल गर्न युरोपेली नेताहरूले अमेरिकी अधिकारीहरुसँग पेरिसमा भेट्दा भेनेजुएला वा ग्रीनल्याण्ड बारे सार्वजनिक रूपमा केही बोलेनन् ।
ग्रिसको अमेरिकन कलेजका अन्तर्राष्ट्रिय सम्बन्ध प्राध्यापक कोन्स्टान्टिनोस फिलिसका अनुसार युरोपको प्राथमिकता युक्रेन, युरोपेली रक्षा र अमेरिकालाई नेटोभित्रै राख्नु हो ।
यद्यपि, चाथम हाउसका युरेसिया विज्ञ केइर जाइल्सका भने युरोपले अवस्था गम्भीर बन्दै गएको बुझिसकेको र केवल समय घर्काउने प्रयास मात्र गरिरहेको बताउँछन् ।
ग्रीनल्याण्डमा सैन्य तैनाथीको बहस
जाइल्सका अनुसार युरोपले अहिलेबाटै ग्रीनल्याण्डमा सैन्य अवरोध राख्नुपर्ने विकल्प गम्भीर रूपमा सोच्नुपर्छ । २०१७ पछि बाल्टिक राष्ट्र र पोल्यान्डमा सैनिक तैनाथीले रुसलाई आक्रमणबाट रोकेको उदाहरण उनले दिए । “यदि अमेरिकाले ग्रीनल्याण्डमाथि आक्रमण गर्यो भने यसले युक्रेनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको रणनीतिलाई फाइदा पुर्याउने छ, ” उनको तर्क छ ।
जर्मनीका राष्ट्रपति फ्रान्क–वाल्टर स्टाइनमायरले पनि नेटोका साझा मूल्य कमजोर हुँदा विश्व व्यवस्था नै जोखिममा पर्ने चेतावनी दिएका छन् ।
ग्रीनल्याण्डमा सैन्य हस्तक्षेप होला ?
ग्रीनल्याण्ड कसरी हात पार्ने भन्ने विषयमा अमेरिकीहरू विभाजित छन् । अमेरिकी विदेश मन्त्री मार्को रुबियोले ग्रीनल्याण्डबारे डेनमार्क सरकारसँग वार्ता गर्ने बताएका छन् । तर, उनले सैन्य हस्तक्षेपको विकल्पलाई अस्वीकार भने गरेका छैनन् ।
मियर्सहाइमरका अनुसार ट्रम्पले इरान, नाइजेरिया र भेनेजुएलामा बल प्रयोग गरिसकेकाले ग्रीनल्याण्डमा पनि त्यस्तो सम्भावना बढेको छ ।
तर फिलिसका अनुसार ट्रम्पले ग्रीनल्याण्डभित्रको स्वायत्तता आन्दोलनलाई बलियो बनाएर अमेरिकासँग सहयोग माग्ने वातावरण बनाउन सक्छन् ।
ग्रीनल्याण्डको विपक्षी दल नालेराकका नेता पेल ब्रोगबर्गले डेनमार्कलाई पन्छाएर अमेरिका-ग्रीनल्याण्डबीच प्रत्यक्ष संवाद हुनुपर्ने बताएका छन् । उक्त दलले गत वर्षको निर्वाचनमा २५ प्रतिशत मत प्राप्त गरेको थियो ।
रिपोर्टहरूलाई मान्ने हो भने ट्रम्पले ग्रीनल्याण्डका स्थानीयलाई प्रतिव्यक्ति १० हजारदेखि १ लाख डलरसम्म दिने प्रस्ताव समेत विचार गरिरहेका छन् ।
ट्रम्प किन ग्रीनल्याण्ड चाहन्छन् ?
ट्रम्प प्रशासनले सुरक्षा कारण देखाए पनि १९५३ को सम्झौताअनुसार डेनमार्कले अमेरिकालाई ग्रीनल्याण्डमा सैन्य आधार, उपकरण र सैन्य गतिविधिका लागि पूर्ण अनुमति दिइसकेको छ । त्यहाँ रहेको अमेरिकी राडार प्रणालीले उत्तर ध्रुव हुँदै आउने क्षेप्यास्त्रबारे प्रारम्भिक चेतावनी दिन्छ ।
विश्लेषकहरूका अनुसार आर्कटिक क्षेत्रमा बरफ पग्लँदै जाँदा नयाँ समुद्री मार्ग खुलिरहेका छन् । यसले सुरक्षा र आर्थिक प्रतिस्पर्धा बढाएको छ । दुर्लभ खनिजको स्रोतका दृष्टिले पनि ग्रीनल्याण्ड युरोपेली सङ्घ (ईयु) का लागि महत्त्वपूर्ण छ ।
यसैले ट्रम्पको ग्रीनल्याण्ड नीति केवल भू-राजनीतिक विस्तार मात्र नभई भविष्यको विश्व शक्ति सन्तुलनसँग जोडिएको विषय समेत बनेको छ । (अलजजिराबाट)