काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश सहित ३ जनालाई कारबाही गरेको छ।
सानेपामा बसेको केन्द्रीय कमिटी बैठकले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई ५ वर्षको कार्बाही गर्ने निर्णय गरेको हो ।
बैठकले विशेष महाधिवेशनको पक्षमा लाग्नेहरूलाई आ–आफ्नो भूमिकामा फर्किन भनेको छ ।
पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आह्वान गरेको भन्दै उनीहरूमाथि कारबाही गरिएको बताइएको छ । पार्टीको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनलाई बेवास्ता गरिएको भन्दै महामन्त्रीद्वयले आह्वान गरेका थिए ।
विशेष महाधिवेशन आह्वान गरेका थापा र शर्माले बन्द सत्रको हलले गरेको निर्णय नै अन्तिम निर्णय हुने भन्दै निर्वाचन समिति गठन गरी चुनावी प्रक्रिया अघि बढाएका थिए ।
पार्टी विभाजन रोक्न भन्दै विभिन्न चरणमा नेताहरू छलफलमा बसेका थिए । मंगलबार नेताहरूले तीन चरणमा छलफल गरेका थिए । बुधबार बिहानमात्रै महामन्त्रीद्वयले सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए । उक्त छलफलले पनि निकास निकाल्न सकेन ।
निष्कासनको निर्णयसँगै विशेष महाधिवेशन पक्षधरहरूले अब नयाँ कार्यसमिति सार्वजनिक गर्ने तयारी गरिरहेको बताइएको छ।