काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्ष (देउवा समूह) ले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टीबाट पाँच वर्षका लागि निष्कासन गरेपछि दुवै नेताले कडा प्रतिक्रिया दिँदै आफूहरू नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्।
पार्टी केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वयसहितका नेताहरूलाई निष्कासन गर्ने निर्णय गरेलगत्तै विश्वप्रकाश शर्माले विधान अनुरूपको विशेष महाधिवेशनले देशलाई सही दृष्टिकोण दिएको र अब यसैले सही नेतृत्वसमेत प्रदान गर्ने बताएका छन्।
शर्माले आफूहरूले अघि सारेको ८ बुँदे प्रस्तावका कुन बुँदा कांग्रेस र देशको अहितमा थिए भनी प्रश्न गर्दै कांग्रेस र देश बदल्ने अभियानमा गगन थापा र आफू दुवै दृढ रहेको स्पष्ट पारेका छन्। उनले मुस्कुराउँदै ती बुँदाहरू फेरि पढेको उल्लेख गर्दै विशेष महाधिवेशनमार्फत आउने नयाँ नेतृत्वले नै पार्टीलाई सही दिशा दिने विश्वास व्यक्त गरे।
यसैबीच, कारबाहीमा परेका अर्का महामन्त्री गगनकुमार थापाले देउवा समूहको निर्णयलाई चुनौती दिँदै आफूहरू नै आधिकारिक कांग्रेस भएको र पार्टीको चुनाव चिह्न रुख तथा चारतारे झन्डा आफूहरूसँगै रहेको दाबी गरेका छन्।
थापाले विशेष महाधिवेशनले नेतृत्व चयनको प्रक्रिया अघि बढाउने बाटो खोलेको भन्दै अब कुनै पनि अलमल नरहेको बताए। संवादका प्रयासहरू सफल नभएपछि विशेष महाधिवेशनको मनोनयन प्रक्रिया सकिएको र निर्वाचित हुने नयाँ नेतृत्वबारे आजै निर्वाचन आयोगलाई जानकारी गराउने उनले स्पष्ट पारे।
सभापति शेरबहादुर देउवासँगको अन्तिम संवादमा देउवाले वैशाखसम्म कुर्न आग्रह गरे पनि देश, समाज र कार्यकर्ताले अब उनलाई स्वीकार गर्न सक्ने अवस्था नरहेकाले विशेष महाधिवेशनको विकल्प नरहेको थापाको तर्क छ। विशेष महाधिवेशन पक्षधरले निर्वाचन प्रक्रिया सुरु गरिसकेको छ, जसमा सभापति पदका लागि गगन थापाको उम्मेदवारी दर्ता भइसकेको छ।
यस घटनासँगै नेपाली कांग्रेस औपचारिक रूपमा विभाजनको गम्भीर मोडमा पुगेको छ।
यस्तो थियो गगन–विश्वले अघि सारेका ८ बुँदा प्रस्ताव
१, विशेष महाधिवेशनको स्वामित्व साझा रूपमा लिने ।
२, विशेष महाधिवेशन परिमार्जन सहित पारित प्रस्तावहरु कार्यान्वयन गर्ने ।
३, सभापतिले सक्रिय भुमिका निर्वाह नगर्ने, सो क्रममा उम्मेदवारी पत्रमा सभापतिले हस्ताक्षर नगर्ने ।
४, उम्मेदवार चयन गर्न संसदीय बोर्ड गठन गर्ने ।
५, आगामी निर्वाचनमा एक ढिक्का भएर मैदानमा जाने ।
६, कुनैपनि दलसँग गठबन्धन नगरेर नेपाली काँग्रेसले आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने ।
७, नेपाली काँग्रेसका तर्फबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाने ।
८, यी सबै कार्य समन्वय र कार्यान्वयन गराउन ५ सदस्यीय संरचना गठन गर्ने । जसमा कार्यवाहक सभापति र दुई महामन्त्री बाहेक थप दुई नेताहरू रहने ।