• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

शेखर कोइराला भन्छन्– कांग्रेस कमजोर पार्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय षडयन्त्र रोक्न सकिएन

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई एकताबद्ध राख्ने प्रयास सफल हुन नसकेको स्वीकार गर्दै कार्यकर्ताहरूलाई पुनः पार्टीमा फर्कन आह्वान गरेका छन्। माघ १ गते एक वक्तव्य जारी गर्दै नेता कोइरालाले कांग्रेसलाई एकढिक्का बनाउने आफ्नो भगिरथ प्रयास सफल हुन नसकेकोमा दुःख व्यक्त गरेका हुन्।

उनले यस परिस्थितिमा को दोषी र को निर्दोष भन्ने विवाद गरेर राजनीतिलाई थप धमिलो बनाउन नचाहेको उल्लेख गर्दै पार्टीभित्र सबैबाट केही न केही कमजोरी भएको स्वीकार गरेका छन्। राजधानीमा भएका अनेकन् षडयन्त्र र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तानाबानाका कारण कांग्रेसलाई कमजोर पार्न खोज्ने स्वार्थलाई रोक्न नसकिएको कोइरालाको भनाइ छ।

आगामी निर्वाचनको संघारमा पार्टी एक भएर होमिनुपर्ने सबैको चाहना भए पनि त्यसो हुन नसक्नुलाई उनले नियतिको खेलका रूपमा व्याख्या गरेका छन्। वीपी कोइरालाको स्मरण गर्दै उनले विगतमा पनि वीपीलाई साथ दिनेहरूका बीचमा केही व्यक्तिले छोडेर गएको प्रसङ्ग जोड्दै अहिलेको परिस्थितिमा पनि कांग्रेस एक हुन नसक्नु कठोर नियति भएको बताएका छन्।

कोइरालाले कांग्रेसको ८ दशक लामो गौरवमय इतिहास जोगाउने जिम्मेवारी अब सबैको काँधमा आएको भन्दै कठिन घडीमा संगठनात्मक ऊर्जा प्रष्फुटन गरेर मात्र अग्रज नेताहरूले दिएको जिम्मेवारी पूरा गर्न सकिनेमा जोड दिएका छन्।

पार्टीभित्रका अन्तरविरोध र समस्याका बाबजुद कांग्रेसलाई आम कार्यकर्ताले निर्माण गरेको साझा घरका रूपमा चित्रण गर्दै उनले सम्पूर्ण एकता अहिलेको अपरिहार्य आवश्यकता भएको बताएका छन्। मतदाताले विगतमा पार्टी विभाजन हुँदा पनि कांग्रेसमाथि भरोसा गरेको स्मरण गर्दै उनले अहिले फेरि एकपटक समृद्धिको यात्राका लागि मतदाताको घरदैलोमा जानुपर्ने समय आएको उल्लेख गरेका छन्। समय छोटो भए पनि यथासम्भव चुनावी अभियान लिएर जनताको घर–आँगनमा पुग्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

वक्तव्यको अन्त्यमा नेता कोइरालाले पार्टीभित्रको सुधार प्रक्रिया नरोकिने स्पष्ट पार्दै सबैलाई ‘घर फर्कन’ विशेष अपिल गरेका छन्। कोइरालाले पार्टीका अग्रज नेता र सहिदहरू नै आफ्ना प्रेरणाका स्रोत भएको र उनीहरूकै मार्गदर्शनबाट नेपालको साझा भविष्य निर्माण गर्नुपर्ने बताएका छन्।