काठमाडौँ । नेपाली कांग्रेस (देउवा पक्ष) को केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन आयोगको पछिल्लो निर्णयलाई अस्वीकार गर्दै कानुनी उपचार खोज्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको बैठकले आयोगले माघ २ गते गरेको निर्णय नेपालको संविधान, प्रचलित कानुन र पार्टीको विधान विपरीत रहेको ठहर गरेको हो।
बैठकका निर्णयबारे जानकारी दिँदै नेता डा. प्रकाशशरण महतले आयोगको निर्णय ‘दुराशयपूर्ण’ र ‘दूषित मनसाय’ बाट प्रेरित रहेको टिप्पणी गरे। उनले भने, ‘देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीको विधिवत् निर्वाचित केन्द्रीय कार्यसमितिलाई अवैधानिक ढंगले परिवर्तन गरी गम्भीर क्षति पुर्याउने मनसाय स्पष्ट देखिन्छ। यो निर्णय मुलुकमा लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनामा पार्ने षड्यन्त्रको एक अंश हो।’
बैठकले आयोगको निर्णयविरुद्ध भोलि नै सर्वोच्च अदालत जाने निर्णय गरेको छ। महतले भने, ‘हामी भोलि नै यसको विरुद्धमा सर्वोच्च अदालत जाँदैछौं। हामीलाई विश्वास छ, सम्मानित अदालतबाट हामीले न्याय पाउनेछौँ।’
नेता महतले निर्वाचन आयोगले अर्को पक्षले गरेको भनिएको विशेष महाधिवेशनको वैधानिकता र उपस्थित सङ्ख्या समेत जाँच नगरी एकतर्फी निर्णय गरेको आरोप लगाए। महतले शेरबहादुर देउवा नेतृत्वको समिति नै आधिकारिक रहेको र सानेपास्थित कार्यालय छोड्ने प्रश्नै नउठ्ने स्पष्ट पारे। उनले हाल शेरबहादुर देउवाको सभापतित्वमा पूर्णबहादुर खड्का कार्यवाहक सभापति रहेको र यही कार्यसमिति आधिकारिक भएको दाबी गरे।